images

२०८३ आश्विन १८ गते

images
images
images

लिम्बू समुदायको पर्व चासोक तङनाम सुरु

लिम्बू समुदायको पर्व चासोक तङनाम सुरु

images
images
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • फुङ्लिङ । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरूले चासोक तङनाम पर्व मनाउन सुरु गरेका छन् । लिम्बू समुदायका विभिन्न संस्थाहरूले समय अनकुल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक चङनामको अवसरमा कार्यक्रम गर्ने गर्दछ । किसानहरूले अन्नबाली घर भित्र्याएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुल देवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरूले चासोक भन्ने गर्दछ । लिम्बू जातीले खेतीपाती गरेको अन्नबाली घर भित्र्याएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटि आफ्नो कूल देवतालाई चढाउने परम्परा रहीआएको छ । किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णिमा अगाडि नै घर भित्रयाइसकेको हुन्छ । 

    images
    images

    सप्रेका (ठूला–ठूला कोदो बाला) धानको बाला टिपेर चोखो पारी जाँड बनाउने गर्दछन् । लिम्बू समुदायका बिजुवा (पुजारी) घर बोलाएर कूल देवतालाई चढाउने गर्दछन् । वर्षमा पाकेको कोदोलाई जाँड बनाएर देवतालाई न्वागी चढाउनुलाई लिम्बू समुदायमा थिसोक भनिन्छ । अन्नको भात पकाएर चढाउनुलाई चासोक भनिन्छ । याक्थुङचुम्लुङका जिल्ला अध्यक्ष हाङमाया लेक्षर्बोका अनुसार प्रत्येक घरमा एक वर्ष पहिला पाकेको अन्न कुल देवतालाई चढाएर मात्र आफूलाई अन्नको उपभोग गर्ने गर्दछ । लिम्बू समुदाय आफ्नै मौलिक संस्कृति र संस्कार रहेको यो जातिले विभिन्न पेसा र जीवनशैली अपनाउँदै आएका छन् ।

    कृषिमा आधारित जीवनशैली अपनाउने यो जाति प्रकृति पूजकका रूपमा पनि रहेका छन् । लिम्बू समुदायका चाडपर्व कृषिमा आधारित छन् । ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका अर्थ जोडिएको लेछर्बोले बताइन् ।लिम्बू समुदायले महान् चाडको रूपमा मान्दै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी) पूजा उँधौली याममा बालीनाली भित्र्याउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको फलाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङनाम भनेको पर्व (चाड) हो ।

    images
    images

    काराँत याक्थुङचुम्लुङ ताप्लेजुङ शाखाका सचिव सरोज कङ्लिवा लिम्बूका अनुसार लिम्बू  समुदायका ग्रन्थ मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ । किराँत याक्थुङ चुम्लुङले २०५९ सालमा प्रकाशित गरेको किराँत चाड एक परिचय पुस्तक अनुसार कृषि युग सुरु हुनुअघि लिम्बूहरूका आदिम पुर्खा (सावा येत्हाङ) ले कन्दमूल काँचै खाएर जीवनयापन गर्थे । उनीहरू कुपोषण र अनेक रोगब्याधिको सिकार बन्न भए । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान् तागेरानिङवाभु माङ (कूल देवता) सँग प्रार्थना गरे ।यही प्रार्थनाले गर्दा नै उनीहरूले पेना/माङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउ बिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए । यसरी धान र अन्नका बीउ बिजन पाएपछि लिम्बू जातिको आदिम पूर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर (घोरिया) बीउ बिजन रोपी छरी अन्न फलाउन सुरु गरे ।

    यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरू (देवीदेवता) लाई चढाउने प्रचलन बसाले । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् ।यी नै कथनअनुसार माङ (देवता) लाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको कङ्लिवा लिम्बूले बताए ।  आफूले उब्जाएको अन्नबाली देवी देवतालाई नचढाई खाएमा बौलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको  छ । पहिला घर–घरमा चासोक थिसोक (न्वागी) पूजा गरी रमाउने लिम्बूहरूले हाल आएर सामूहिक रूपमा यसलाई महान् उत्सवका रूपमा मान्न थालेको पाइन्छ । 

    यो पर्वमा खुसीयाली साटासाट गर्ने तथा वर्षभरि भेट नभएका आफन्तजन तथा साथीभाइसँग भेटघाटको अवसरका रूपमा लिने गरेका लिम्बू समुदायको भनाइ छ ।  चासोक तङ्नामको अवसरमा ताप्लेजङलगायत लिम्बू समुदाय बसोबास गर्ने क्षेत्रहरूमा शुभकामना आदान–प्रदान तथा मौलिक गीत–सङ्गीतसहितको सांस्कृतिक कार्यक्रम (यालाङ, केलाङ) धान तथा च्याब्रुङ नाच गरी मनाउने गर्दछन् । यसलाई धार्मिक महत्त्व मानिन्छ भने सामाजिक महत्वमा चासोक तङ्नाममा रिस, इष्र्या बिर्सेर आत्मीयताका साथ लिम्बू दाजुभाइ, दिदीबहिनी भेटघाट र शुभकामना आदानप्रदान गर्दछन् । पाहुना आउने–जाने, मिठो मसिनो विभिन्न खानपिन बनाइ खाने, सुख–दुःख साटासाट गर्दै खुसीयाली मनाउने, चेलीबेटीबाट हुक्वा, चेसुङ ल्याउने, माइत तथा ससुराली जाने अवसरका रूपमा यस पर्व मान्दै आएका छन् ।सामूहिक रूपमा भेला भएर केलाङ, यालाङ, नाचेर, पालाम, सांस्कृतिक कार्यक्रम गरेर, साम्लो (गीत) आदि गाएर मनोरञ्जन गर्दछन् । यस्तै परम्परागत खेल पक्लुङ लेप्मा (छेलो हान्ने) खेल खेल्ने गर्दछन् । 

    ताप्लेजुङमा किराँत याक्थुङचुम्लुङले आउँदो मङ्सिर १८ गते लिम्बू समुदायहरू भएको क्षेत्रमा सामूहिक चासोक तङनाम पर्व मनाउने तयारी रहेको कङ्लिवा लिम्बूले बताइन् । पर्वकै अवसरमा ताप्लेजुङमा विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रमहरू हुने भएको छ । यता फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । लिम्बूहरूको महान पर्व चासोक तङ्नामको पावन अवसरमा स्थानीय बिदा दिएको हो । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै मिति २०८२ कात्तिक ३० गतेको ७६औँ कार्यपालिका बैठकको निर्णय अनुसार याक्थुङ चुम्लुङ धर्मावलम्बीहरूको महान् चाड चासोक तङ्नामको पावन अवसरमा मिति २०८२ साल मङ्सिर १ गते सोमबारका दिन स्थानीय बिदा दिएको जानकारी गराएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend