काठमाडौँ । कात्तिक २८, धार्मिक तथा सामाजिक कार्यक्रम सहित देशभर विश्व मधुमेह दिवस मनाइँदै छ। आज मंसिर कृष्ण पक्षको दशमी तिथि योग परेको छ।
हिन्दू धर्मावलम्बीहरूले आजको दिन शुक्र वारसँगै सन्तोषी माता, वैभवलक्ष्मी, अन्नपूर्णेश्वरी तथा दुर्गा भवानीको विशेष पूजा–आराधना गर्ने परम्परा छ। धर्मशास्त्रअनुसार विशेष गरी लक्ष्मी माताको व्रत बस्नेहरूले विधिपूर्वक पूजा गरे आर्थिक समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।
व्रत गर्नेहरूले फलाहारका रूपमा चना र सख्खर प्रयोग गर्न उपयुक्त मानिन्छ भने अमिलो पदार्थ खानु निषेध गरिएको छ। अलग–अलग विधि रहने यी व्रतहरूमा सेतो पहिरन लगाउने चलन छ। यसदिन घरमा खीर बनाएर गरिब–दुुखीलाई वितरण गर्दा घर–परिवारमा समृद्धि आउने जनविश्वास पाइन्छ।
सन्तोषी माताको व्रत बस्ने स्त्री–पुरुष दुवैलाई सुख–शान्ति र मनोकांक्षा पूरा हुने धार्मिक मान्यता छ। ज्योतिषशास्त्रअनुसार शुक्र ग्रहबाट पीडित भएकाले सेतो घोडा, रंगीन तथा रेशमी वस्त्र, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन र कपुर दान गर्दा ग्रहदोष शान्त हुने बताइन्छ। शुक्रसँग सम्बन्धित रत्न दान गर्दा पनि लाभ हुने विश्वास गरिएको छ।
शुक्रदशाले समस्या ल्याइरहेको अवस्था भएकाहरूलाई शुक्रबारको व्रत विशेष लाभदायी हुने ज्योतिषहरूले बताउँदै आएका छन्।




.gif)





