images

२०८३ आश्विन १८ गते

images
images
images

धनगढीको नेपाल आयल निगम डिपो तत्काल सार्न स्थानीयको माग

धनगढीको नेपाल आयल निगम डिपो तत्काल सार्न स्थानीयको माग

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • धनगढी । कैलाली, कात्तिक २४, धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन्।

    images
    images

    डिपो स्थानान्तरणको प्रक्रिया दुई वर्षदेखि अघि बढेको भनिए पनि हालसम्म कुनै प्रगति नभएको भन्दै स्थानीयवासीले आइतबार डिपो प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। शुभकामना टोल विकास संस्थाले डिपो तत्काल सार्ने वा आन्दोलनमा उत्रिनुपर्ने चेतावनी समेत दिएको छ।

    संस्थाका अध्यक्ष दीर्घराज ओझाका अनुसार घना बस्तीबीच रहेको डिपो स्थानीयका लागि जोखिमपूर्ण बनेको छ। “डिपोमा ठूलो मात्रामा पेट्रोलियम पदार्थ भण्डारण भएकाले आगलागीको जोखिम अत्यधिक छ। डिपोबाट इन्धन लोड अनलोड भइरहँदा घरमा आगो बाल्न पनि डर लाग्छ,” अध्यक्ष ओझाले भने।

    images
    images

    ८७ घरधुरी र पाँच सयभन्दा बढी बासिन्दा रहेको शुभकामना टोल अहिले घनाबस्तीमा परिणत भएको छ। डिपो नजिकै धनगढी नेत्रालय, सिपी अस्पताल, विद्यालय र व्यापारीक भवन समेत छन्। दैनिक हजारौं सवारीसाधन गुड्ने धनगढी–अत्तरिया सडक खण्ड डिपोको छेउमै रहेको छ।

    ओझाले १५ दिनभित्र माग सम्बोधन नभए चरणवद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।

    नेपाल आयल निगमका सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख हरिदत्त जोशीका अनुसार डिपो स्थानान्तरणका लागि २०,२२ बिघा क्षेत्रफलको जग्गा खोजी भइरहेको छ। “दुई वर्षदेखि उपयुक्त जग्गा खोज्दैछौं तर अहिलेसम्म ठ्याक्कै उपयुक्त स्थान फेला परेको छैन,” जोशीले बताए।

    उनका अनुसार कैलाली जिल्लालाई प्राथमिकतामा राखेर खोजी भइरहेको भए पनि आवश्यकता अनुसार कञ्चनपुरतर्फ पनि जग्गा खोज्ने तयारी छ।

    यसअघि कञ्चनपुरको पुनर्वास नगरपालिका–३ र ५ मा रहेको राष्ट्रिय आवास कम्पनीको २२ बिघा जग्गा खरिद गर्ने योजना अघि बढाइएको थियो। तर स्थानीयको विरोधपछि उक्त प्रक्रिया रोकिएको हो।

    हाल धनगढी डिपो एक बिघा आठ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। यसमा डिजेलका लागि ७६० किलो लिटर क्षमताका दुई भर्टिकल ट्यांक, ७० किलो लिटर क्षमताको भूमिगत ट्यांक र पेट्रोलका लागि ७६० किलो लिटर क्षमताको भर्टिकल ट्यांक तथा ७० किलो लिटर क्षमताको भूमिगत ट्यांक छन्।

    डिपोबाट सुदूरपश्चिमका नौ जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति हुँदै आएको छ। दैनिक एक सय किलो लिटर पेट्रोल र तीन सय किलो लिटर डिजेल बिक्री हुने गरेको छ।

    नेपाल सरकारको योजना अनुसार हरेक प्रदेशमा कम्तीमा ९० दिनसम्मको माग धान्न सक्ने भण्डारण गृह निर्माण गरिँदैछ। तर अहिले सुदूरपश्चिमको भण्डारण क्षमता एक साताको माग पनि पूरा गर्न नसक्ने अवस्थामा छ।

    धनगढी डिपो २०३७ सालमा स्थापना भएको हो। भारतको बन्थरास्थित इन्डियन आयल कर्पोरेसन डिपोबाट गौरीफन्टा नाका हुँदै इन्धन आयात गरी यहाँ भण्डारण र वितरण गरिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend