काठमाडौँ । कार्तिक २१, सशस्त्र प्रहरी बल, नेपालले मातहतका सबै निकायहरूलाई राजनीतिक तथा अनावश्यक बाह्य भेटघाट नगर्न कडा निर्देशन जारी गरेको छ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले बिहीबार सम्पूर्ण कार्यालयहरूमा परिपत्र पठाउँदै संगठनका कुनै पनि दर्जाका कर्मचारीले राजनीतिक दलका नेताहरू, उच्च पदस्थ व्यक्तित्व, कूटनीतिक नियोग तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्नुअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था लागू गरिएको जानकारी दिएका हुन्।
सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार संगठनले हालै स्वीकृत “आचरण सम्बन्धी स्थायी आदेश” अनुसार भेटघाट, छलफल र सूचना आदान प्रदानका सबै गतिविधि व्यवस्थित गर्ने नीति लिएको छ। उनले भने, “सशस्त्र प्रहरीका कुनै पनि कर्मचारीले संगठनका गोप्य सूचना वा योजनालाई व्यक्तिगत लाभका लागि अनधिकृत रूपमा बाहिर सार्वजनिक गरे कडा कारबाही हुनेछ।”
राज्यद्वारा तोकिएका जिम्मेवारीहरू, आतंककारी गतिविधि नियन्त्रण, दंगा तथा विपद् व्यवस्थापन, पृथकतावादी गतिविधि नियन्त्रण, सीमा सुरक्षा लगायतका संवेदनशील कार्यमा संलग्न सशस्त्र प्रहरीको सांगठनिक मर्यादा र राष्ट्रिय सुरक्षामा असर पर्ने कुनै पनि भेटघाटलाई पूर्ण रूपमा निरुत्साहित गर्न परिपत्र जारी गरिएको हो।
थापाका अनुसार मिडियासँग सूचना आदान प्रदान गर्नु परेमा स्थायी आदेशमा उल्लेखित प्रक्रिया अनुसार आईजीपी सचिवालयको स्वीकृति लिएर मात्र गर्न सकिने छ। मिडियासँगको औपचारिक सम्पर्क भने प्रवक्ताको कार्यालय मार्फत हुने स्पष्ट गरिएको छ।
आईजीपी अर्यालले संगठनका सबै कर्मचारीहरूलाई राष्ट्रसेवामा समर्पित रहँदै अनुशासन, मर्यादा र पेशागत बफादारी कायम गर्न निर्देशन दिएका छन्। उनले भने, “संगठनमा कसैको दबाब वा भनसुनले अवसर निर्धारण गर्दैन् सबै कर्मचारीको मान, इज्जत र प्रतिष्ठा समान हुन्छ।”
सशस्त्र प्रहरी बलले कठिन मौसम र चुनौतीपूर्ण जिम्मेवारीबीच पनि राष्ट्रसेवामा समर्पित कर्मचारीहरूको मनोबल उच्च राख्ने प्रतिबद्धता जनाएको छ।




.gif)





