काठमाडौं । रुपन्देही- बुटवल उपमहानगरपालिका क्षेत्रकै चर्चितमध्ये एक होटलले खसी र कुखुराको कुहिएको मासुबाट बिरयानी बनाउने गरेको खुलेको छ ।‘हैदराबादी मट्का बिरयानी एन्ड मट्का लस्सी’ नामबाट चर्चित भएको बुटवलस्थित पुरानो बसर्पाकको उक्त होटलमा कुहिएको मासुबाट बिरयानी बनाउने गरेको प्रमाण अनुगमनका क्रममा भेटिएको हो ।
शुक्रबार गरिएको अनुगमनका क्रममा चार वर्षअघि सञ्चालित उक्त होटमा खान अयोग्य मानिने कुहिएको मासुबाट बिरयानी बनाउने गरेको पाइएको हो ।बुटवल आसपासमा उक्त ‘हैदराबादी मट्का बिरयानी एन्ड मट्का लस्सी’ होटलले ग्राहकलाई आकर्षित गर्न सफल भएको थियो । यसअघि पनि सरसफाइमा ध्यान नदिएको, फोहोर भाँडामा खानेकुरा दिने गरेको गुनासो आउने गरेको थियो ।
यस पटक पनि एकजना ग्राहकले बिरयानी फोहोर भाँडामा दिएको गुनासो बुटवल उपमहानगरपालिकास्थित अनुगमन शाखा र स्थानीय उपभोक्ता हित संरक्षण मञ्चमा गरेका थिए ।बुटवल उपमहानगरपालिकाको अनुगमन शाखा र त्यहाँस्थित उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त अनुगमनका क्रममा बिरयानी बनाउन तयारी अवस्थमा राखिएको ६५ किलोग्राम खसी र कुखुराको मासु बरामद गरेको हो ।
ग्राहकले गुनासो गरेपछि ‘हैदराबादी दम बिरयानी’ होटलमा अनुगमन गर्दा ठूलो परिमाणमा कुहिएको मासु र छाला बरामद भएको बुटवल उपमहानगर अनुगमन शाखाका ठगिश्वर पोखरेलले बताएका छन् । उनले बरामद कुहिएको मासु र कुखुराको छाला कानुनअनुसार नष्ट गरिएको बताए ।कुहिएको मासुबाट बिरयानी बनाउने उक्त होटललाई कारबाही गरिने पनि उनले जानकारी दिएका छन् ।




.gif)





