काठमाडौँ । कात्तिक १६, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावका कारण आज देशका विभिन्न भागमा बदलीसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बिहानको समयमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यतः बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, मधेश प्रदेशका थोरै स्थान र बागमती तथा गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना रहेको छ।
दिउँसोको समयमा कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने, मधेश प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूले देशका हिमाली तथा उच्च पहाडी क्षेत्रका बासिन्दालाई चिसो र हिमपातका कारण सावधानी अपनाउन अनुरोध गरेका छन्।




.gif)





