धादिङ । बेनिघाटरोराङ, चेपाङ समुदायका विद्यार्थीलाई लक्षित गरी बेनिघाटरोराङ गाउँपालिकाका तीन विद्यालयमा कापी, कलम लगायतका स्टेशनरी सामग्री वितरण गरिएको छ। आर्थिक अभावका कारण अध्ययन सामग्री किन्न नसक्ने १ सय १९ जना विद्यार्थीलाई यो सहयोग प्रदान गरिएको हो।
वडा नम्बर ९ रोबाङस्थित रोबाङ आधारभूत विद्यालयका ११४ जना, वडा नम्बर ८ दुङबाङस्थित जलदेवी आधारभूत विद्यालयका १९ जना, र वडा नम्बर ७ चाँपटारस्थित आदर्श आधारभूत विद्यालयका ६३ जना विद्यार्थीले उक्त सामग्री प्राप्त गरेको शिक्षक तिलक चेपाङले जानकारी दिए।
यो सहयोग अष्ट्रियाको भियाना निवासी इरिक, कृष्टिने, र अष्ट्रियामै कार्यरत रिटायर्ड नर्स आङछुटिन शेर्पाले “च्यारिटी फर नेपाल” नामक संस्था मार्फत् उपलब्ध गराएका हुन्।
यसैगरी, शंखादेवी माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना चेपाङ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक तिलक चेपाङले बताए। उक्त छात्रवृत्तिमा खाना, आवास, कपडा, स्टेशनरी र नगद खर्च समेत समावेश गरिएको छ।
प्रधानाध्यापक चेपाङका अनुसार विद्यालय टाढा भएर पढ्न नसकेका बालबालिकालाई पढ्ने वातावरण तयार गर्नका लागि सहयोग जुटाइएको हो। बेनिघाटरोराङका रोबाङ, बोस्राङ, दुङबाङ, माङराङ तथा चितवनको इच्छाकामना गाउँपालिकाका ६ जना छात्र र १२ जना छात्रालाई पूर्ण छात्रवृत्ति दिइएको छ।




.gif)





