म्याग्दी । जिल्लाको पश्चिमी क्षेत्रका तीन स्थानीय तह बेनी बजारसँग जोड्ने बेनी दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुमाउने) क्षेत्रमा गएको पहिरोका कारण मङ्गला, मालिका र धौलागिरि गाउँपालिकासँग सदरमुकाम बेनी बजारको सीधा यातायात रोकिएको हो।
सडक अवरुद्ध भएपछि स्थानीयवासी गन्तव्यमा पुग्न असहज भएको छ। साथै, जलविद्युत्, सडक, भवन, प्रसारण लाइन, सबस्टेशन आयोजनाका निर्माण सामग्री ढुवानी गर्न पनि समस्या उत्पन्न भएको छ। दैनिक उपभोग्य सामग्रीको आपूर्ति र ग्रामीण क्षेत्रको कृषि तथा पशुजन्य वस्तुको बजार व्यवस्थापनमा समेत बाधा परेको छ।
यातायात व्यवसायी यज्ञबहादुर थापाले भने, “सडकमा पहिरो थुप्रिनुका साथै माथिबाट निरन्तर पहिरो खसिरहने भएकाले दुर्घटनाको जोखिम उच्च छ।” उनले फापरखेत क्षेत्रमा विसं २०६१ देखि नै पहिरो समस्या भइरहँदै आएको बताए।
पूर्वाधार विकास कार्यालय, म्याग्दीका अनुसार, बेनी दरवाङ सडक स्तरोन्नतिको योजना अन्तर्गत आज बिहान वर्षा रोकिएकाले पहिरो हटाउन आवश्यक उपकरण परिचालन गरिएको छ र चाँडै सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।




.gif)





