म्याग्दी । दसैँ तिहारको पर्वपछि खेतबारीमा पाकेको धान र कोदो भित्र्याउने समयमा म्याग्दीका कृषक वर्षात र हावाहुरीले चिन्तित भएका छन्। खेतमा पाकेको बाली काट्न नपाएपछि केही धान खेतमै पानीले भिजेर कुहिन सक्ने खतरा रहेको छ।
मङ्गला गाउँपालिका–२ रणवाङका कृषक लक्षिन बहादुर मल्लले भने, “धान र कोदो काटेर सुकाउन नसक्दा उत्पादनमा असर पर्न सक्छ। वर्षा र हावाहुरीले बालीलाई भित्र्याउन कठिन बनाएको छ।” त्यस्तै, सिमका कृषक ध्रुब खत्रीले गत वर्ष १०० मुरी धान उत्पादन भएको भए पनि यसपाली उत्पादन घट्ने अनुमान व्यक्त गरे।
कृषि ज्ञान केन्द्र, म्याग्दीका अनुसार जिल्लामा करिब ३,८०६ हेक्टर क्षेत्रमा धान खेती हुन्छ। विभिन्न क्षेत्रका कृषकले स्थानीय र उन्नत जातका धान जस्तै गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे, अन्नपूर्ण तीन, खुमल चार, खुमल १०, लुम्ले दुई लगायतका जातका धानखेती गर्दै आएका छन्।
कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले भने, “बोटमै भएको धानलाई वर्षाले असर नगर्ने भए पनि काटिसकेको धान वर्षाबाट बचाउन कुन्युमा राखेर भिज्न नदिनु पर्छ। खेतमै परालसँगै राखिएको धान वर्षा पछि घाममा सुकाएर मात्र भित्र्याउनुपर्छ।”
कृषकले धान काट्ने योजना मौसम अनुकूल नहुँदासम्म स्थगित गर्नुपर्ने केन्द्रले अनुरोध गरेको छ।




.gif)





