काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज ग्लोबल आइएमई बैंक, मुक्तिनाथ कृषि कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड का सेयरधनीले लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि सेयर कायम गरिसक्नुपर्नेछ।
यी कम्पनीहरूमध्ये मुक्तिनाथ कृषि कम्पनी र गुराँस लघुवित्त ले कात्तिक १४ गते, भने ग्लोबल आइएमई बैंक ले कात्तिक १६ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले आजसम्म नेप्सेमा कारोबार भई नाममा सेयर कायम रहेका लगानीकर्तामात्र लाभांश वितरणका लागि योग्य हुनेछन्।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि ८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ। बैंकले प्रस्ताव पारित गर्न कात्तिक २६ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा साधारण सभा बोलाएको छ।
त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी ले गत आर्थिक वर्षका लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको साधारण सभा कात्तिक २९ गते, बिहान साढे ११ बजे सिल्भर ओक ब्याङक्वेट एण्ड एभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौंमा हुने छ।
उता, गुराँस लघुवित्त ले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको १०औं वार्षिक साधारण सभा कात्तिक २३ गते, बिहान ९ बजे हिले, धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा आयोजना हुनेछ।




.gif)





