काठमाडौँ । कात्तिक १०, देशका केही भागमा भोलि (मंगलबार) वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी पश्चिम नेपालका पहाडी तथा हिमाली भू भागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने अनुमान गरिएको छ।
महाशाखाले आज बिहान जारी गरेको दैनिक बुलेटिनका अनुसार गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा र हिमपात हुन सक्नेछ। ती प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भने भारी वर्षा वा हिमपात समेत हुने सम्भावना रहेको उल्लेख छ।
महाशाखाले ती क्षेत्रमा वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन गतिविधि प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल देशमा पश्चिमी वायु प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको महाशाखाले जनाएको छ। यही प्रणालीको कारण देशका पश्चिमी भू–भागमा वायु चक्रियता बढेको र मौसम आंशिकदेखि पूर्ण बदली हुने क्रम जारी छ।
मौसमविद्हरूका अनुसार यो प्रणालीको प्रभाव क्रमशः देशका अन्य भागतर्फ पनि सर्दै जाने भएकाले यो साताको अन्त्यतिर पूर्व र मध्य क्षेत्रका केही स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ।




.gif)





