काठमाडौँ । कात्तिक १०, पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी,मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।
आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ः०० बजे देखि २ः०० बजेसम्म सडक बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।
कार्यालयकी प्रशासकीय अधिकृत सिर्जना रेग्मीका अनुसार सो स्थानमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो।
गत असोज १८ गते सो खण्डमा सडक भासिएपछि हाल एकतर्फी रूपमा मात्र सवारी सञ्चालन हुँदै आएको छ। यसअघि २०७९ जेठ २७ गते पनि सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मर्स्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो। पुनः त्यही क्षेत्रमा सडक भासिएपछि थप अध्ययन तथा परीक्षण आवश्यक भएको जनाइएको छ।




.gif)





