काठमाडौँ । कात्तिक ९, भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा ट्राफिक प्रहरी कार्यालयको भवनमा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन हुने भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक ११ गतेदेखि पुनः ट्राफिक सचेतना कक्षा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ।
प्रवक्ता सुवेदीले भने, “जेनजी प्रदर्शनमा हाम्रो ट्राफिक सचेतना कक्षा, भवन, उपकरणलगायत सामग्री जलेर नष्ट भएका थिए। अहिले भवन सहित आवश्यक उपकरणहरू तयार भएका छन्। अब पुनः ट्राफिक सचेतना कक्षा सुरु गर्दैछौँ।”
काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ती उल्लङ्घन गर्ने, वा सडक लेन तोडफोड गर्ने चालकहरूलाई लक्षित गरी ट्राफिक प्रहरीले भौतिक रूपमा उपस्थित गराई सचेतना कक्षा सञ्चालन गर्दै आएको छ।
सार्वजनिक बिदा बाहेक अन्य दिनमा उक्त कक्षा सञ्चालन गरिने जानकारी पनि प्रवक्ता सुवेदीले दिएका छन्।




.gif)





