काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो तीन महिनामा मुलुकले करिब चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापार तथ्यांक अनुसार, यो अवधिमा नेपालले ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ भने ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ।
यसरी असोज मसान्त सम्म कुल ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा नेपालले ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँको घाटा व्यहोरेको हो।
छिमेकी भारतसँग मात्रै २ खर्ब ५८ अर्ब ८७ करोड ८२ लाख रुपैयाँ बराबरको आयात र ५९ अर्ब १२ करोड ८३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। यसअनुसार भारतसँगको व्यापार घाटा १ खर्ब ९९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, चीनसँगको व्यापार घाटा १ खर्ब ४ अर्ब ७० करोड रुपैयाँ रहेको छ। चीनबाट १ खर्ब ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको आयात हुँदा नेपालले त्यहाँ मात्र १८ करोड ६४ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ।
नेपालले भने डेनमार्कसँग सबैभन्दा बढी व्यापार नाफा कमाएको छ। उक्त अवधिमा डेनमार्कबाट ४ करोड १ लाख रुपैयाँ बराबरको आयात हुँदा २८ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ। यसरी नेपालले डेनमार्कसँग २४ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको व्यापार नाफा गरेको हो।
जर्मनी, रोमानिया, स्विडेन र लेबनान लगायत मुलुकसँग पनि नेपालले सकारात्मक व्यापार सन्तुलन कायम गर्न सफल भएको विभागले जनाएको छ।
यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी रहेको छ। भन्सार विभागका अनुसार, असोज मसान्तसम्म १६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख रुपैयाँको डिजेल, र १३ अर्ब ९८ करोड १९ लाख रुपैयाँको एलपी ग्यास आयात भएको छ।
त्यस्तै, १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन पनि यस अवधिमा नेपाल भित्रिएको छ।




.gif)





