काठमाडौँ । कात्तिक ९, म्याग्दीको रणनीतिक महत्त्व बोकेको बेनी,दरबाङ सडक आयोजना अन्तर्गत रणवाङ,दरवाङ खण्डको कालोपत्रे गर्ने काम ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।
मङ्गला गाउँपालिका–२ रणवाङ देखि मालिका गाउँपालिकाको केन्द्र दरवाङ सम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्न वि.सं. २०७६ जेठ ३१ गते पूर्वाधार विकास कार्यालय म्याग्दी र बिरुवा,क्याराभान निर्माण कम्पनीबीच २२ करोड ५७ लाख ९ सय ३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
योजना वि.सं. २०७८ जेठमा सक्ने लक्ष्य थियो। तर, हालसम्म भौतिक प्रगति ८७ प्रतिशतमा मात्रै सीमित छ। कार्यालय प्रमुख विष्णु पौडेलका अनुसार, रणवाङ,तोलावाङ खण्ड अन्तर्गत ७ किलोमिटर सडकमा ३ किलोमिटर ३०० मिटर दूरीमा मात्र कालोपत्रे सम्पन्न भएको छ।
म्याग्दीको ‘लाइफलाइन’ मानिने यो सडक निर्माणमा ढिलाइ हुँदा यात्रुहरू सास्ती खेपिरहेका छन्। धुलो, हिलो र खराब सडकका कारण दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायी अर्जुन आचार्यले बताए। उनका अनुसार तोलावाङ,दरवाङ खण्ड अझै अधुरो रहेको र धुलोका कारण स्थानीयवासीलाई स्वास्थ्य समस्या समेत भएको छ।
निर्माण कम्पनीका सञ्चालक चन्द्र थकालीले नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन नहुनु, कोरोना महामारी र विपद्का कारण ढिलाइ भएको दाबी गरे। उनले पहिरो प्रभावित क्षेत्रबाहेकका भागमा काम सम्पन्न भएको र चालु आर्थिक वर्षभित्र योजना पूरा गर्ने प्रतिबद्धता जनाए।
गण्डकी प्रदेशसभा सांसद रेशम जुग्जालीले ठेकेदार कम्पनीले बारम्बार बहाना बनाएर ढिलाइ गरेको आरोप लगाए। उनले चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेट अपुग भए थप व्यवस्था गर्न पहल गर्ने बताउँदै निर्माण व्यवसायीलाई शीघ्र काम सम्पन्न गर्न आग्रह गरे।




.gif)





