काठमाडौँ । सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ। पछिल्लो समय कोषमा सूचीकृत श्रमिक र रोजगारदाताको संख्या दुवैमा उल्लेख्य वृद्धि भएको छ।
कोषका अनुसार गत आर्थिक वर्ष २०८१।८२ मा मात्र ८ लाख ८२ हजार ९४६ नयाँ श्रमिक सूचीकृत भएका थिए। हालसम्म देशभरका २२ हजार ७६ रोजगारदाता संस्थाहरू कोषमा आवद्ध भइसकेका छन्।
तर, औपचारिक क्षेत्रमा काम गर्ने श्रमिक धेरैजना कोषमा आवद्ध भए पनि अनौपचारिक क्षेत्रका श्रमिकको सहभागिता निकै न्यून रहेको कोषले जनाएको छ। हालसम्म औपचारिक क्षेत्रका ६ लाख ४० हजार श्रमिक कोषमा आवद्ध छन् भने अनौपचारिक क्षेत्रका जम्मा ७९४ श्रमिक मात्र सहभागी भएका छन्।
श्रम सर्वेक्षण २०७५ अनुसार हाल देशको श्रम बजारमा ७० लाख ८६ हजार व्यक्ति रोजगारीमा छन्। त्यसमा औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार र अनौपचारिक क्षेत्रमा ४४ लाख ११ हजार कार्यरत छन्। अनौपचारिक क्षेत्रको ठूलो हिस्सा कृषि, वन र मत्स्यपालन (२१.५%), निर्माण (१३.८%), खुद्रा व्यापार (१७.५%) र यातायात (४.५%) क्षेत्रमा केन्द्रित छ।
वैदेशिक रोजगारमा जाने श्रमिक बढी आवद्ध, कोषका तथ्यांक अनुसार हालसम्म १९ लाख ३४ हजारभन्दा बढी वैदेशिक रोजगारमा जाने श्रमिक सामाजिक सुरक्षामा आवद्ध भएका छन्। वैदेशिक रोजगारीमा जानुअघि सामाजिक सुरक्षामा अनिवार्य आवद्ध हुनुपर्ने कानुनी प्रावधानका कारण यो संख्या बढेको हो। तर, तीमध्ये धेरैजसोले नियमित रूपमा योगदान भने गर्दैनन्।
९३ अर्ब रुपैयाँ संकलन, अधिकांश रकम बैंकमा, हालसम्म कोषले ९३ अर्ब रुपैयाँ योगदानकर्ताबाट संकलन गरिसकेको छ। तर यो रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि अधिकांश रकम बैंकमा राखेर ब्याज मात्र खाइरहेको आलोचना छ।
सेवा प्रवाह प्रभावकारी बनाउन तयारी, कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउन निरन्तर प्रयास भइरहेको छ। उनका अनुसार हालसम्म १०७ स्वास्थ्य संस्थासँग समन्वय गरी स्वचालित सेवा प्रणाली जडान गरिएको छ। अब स्वास्थ्य सेवा योगदानकर्ताको परिवारमा समेत विस्तार भएको छ।
अधिकारीका अनुसार अस्पतालमा भर्ना भएर उपचार गराउँदा १० लाख रुपैयाँसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा लागू गरिएको छ। आगामी चार वर्षभित्र कोषमा आवद्ध श्रमिक र उनीहरूको परिवारको सम्पूर्ण स्वास्थ्य सेवा राज्यले नै लिने लक्ष्य रहेको बताइएको छ।
साथै, कोषमा जम्मा भएको रकमलाई उत्पादनशील र प्रतिफलमुखी क्षेत्रमा लगानी गर्ने तयारी भइरहेको पनि अधिकारीले जानकारी दिनुभयो।




.gif)





