काठमाडौँ । कात्तिक ६, हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले याक, चौँरी र भेडाच्याङ्ग्रा चरिरहेका छन् । हिउँदमा घर वरपर राखिएका पशुहरू अहिले घाँसे मैदानमा चरिरहेका छन् भने किसानहरू बाच्छाबाच्छीको स्याहारमा व्यस्त छन् ।
६२ वर्षीया याकचौरीपालक याञ्छु खाण्डा लामाले दशकौं देखि यो पेशा गर्दै आइरहनु भएको छ । उहाँले भन्नुभयो, “आम्दानी यही हो, नोक्सान भए पनि व्यवसाय त्यही हो ।” याक, चौँरी पालनले यहाँका किसानको जीवनयापन र सांस्कृतिक पहिचानमा ठूलो भूमिका खेल्दै आएको छ ।
तर, आधुनिक जीवनशैली र वैदेशिक रोजगारीको प्रभावले पशुपालन घटिरहेको छ । याञ्छु लामाका अनुसार “गोठमा हुर्काएका छोराछोरी विदेश गएका छन्, बजार पनि सिमित छ, यसले याक, चौँरी पालन संकटमा पर्न पुगेको छ ।”
याकचौरी पालनमा वन्यजन्तुको आक्रमण, मौसम परिवर्तन, खोर तथा प्राविधिक सेवाको अभावले समेत चुनौती थपेको छ । अर्कोतर्फ, याकचौरी सांस्कृतिक रूपमा पनि महत्वपूर्ण छन् । गुरुङ, शेर्पा, लामा र अन्य जातिहरूमा चौँरी देवीको रूपमा पूजिन्छ र यसबाट बनेका वस्तुहरू धार्मिक कार्यहरूमा प्रयोग गरिन्छ ।
नार गाउँका पशुपालक मिङ्मार छिरिङ लामाले भने, “गोठाला नपाउँदा र सजिलो सेवा नहुँदा धेरैले पशुपालन छाड्न थालेका छन् ।”
बढ्दो आधुनिकताको प्रभाव र बजारको सीमितताले मनाङमा परम्परागत याकचौरी पालन संकटमा परेको देखिन्छ । स्थानीय किसानहरू पशुपालनलाई बचाउनका लागि सहुलियत र प्राविधिक सहयोग आवश्यक रहेको बताउँछन् ।




.gif)





