काठमाडौँ । कात्तिक ६, तिहारको रमाइलो पर्वमा परम्परागत देउसी भैलो मौलिक स्वरूपमा जोगाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१७ का स्थानीय युवा सक्रिय भएका छन्। अहिले देशभरि देउसी खेल्दा प्रायः आधुनिक हिन्दी र अङ्ग्रेजी गीत बजाइने र नाचिने प्रचलन भए पनि यहाँका युवाहरू परम्परागत झयाउरे गीत र मादलको तालमा देउसी खेल्दै सांस्कृतिक पहिचानलाई संरक्षण गर्न लागि परेका छन्।
कावासोती–१७ का वेदबहादुर पुलामीले भने, “देउसी हाम्रो मौलिक संस्कृति हो, यसको संरक्षण र आगामी पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ। आधुनिक गीतले हाम्रो पहिचान कमजोर पारेको छ।”
परम्परागत पहिरनमा सजिएर देउसी भैलो खेल्ने टोलीमा महिला र बालबालिका समेत सक्रिय छन्। शर्मिला पुनले पुरानो शैलीमा देउसी खेल्दा समुदायमा रमाइलो र एकता बढ्ने बताइन्।
७२ वर्षका दिलबहादुर मगरले भने, “प्रविधि र आधुनिकताको प्रभावले देउसी भैलोको मौलिकता हराउँदै गएको छ। यसलाई पुनः जीवन्त बनाउन सबैको सहभागिता अनिवार्य छ। राज्यले पनि विद्यालय तहदेखि नै मौलिक संस्कृतिको संरक्षणमा भूमिका खेल्नुपर्छ।”
तीन–चार वर्षअघि मात्र गाउँमा देउसी भैलोको तयारीले तिहारअघि चहलपहल बढ्ने गरेको थियो, जहाँ सबै उमेर समूहका मानिसहरू नृत्य, गीत र बाजा बजाउन अभ्यास गर्थे। अहिले त्यो दृश्य कम हुँदै गएको अनुभव गरिएको छ।
तिहारको सांस्कृतिक जीवनको आत्मा बनेको देउसी भैलोलाई जोगाउन स्थानीय समुदाय, शिक्षक, र सरकारको समन्वित प्रयास आवश्यक देखिन्छ।




.gif)





