काठमाडौँ । कात्तिक ६, जलेश्वर महोत्तरी तिहार पर्वको समापन सँगै आज देखि तराई मधेश सहित देशभर छठ पर्वको तयारी धमाधम रूपमा सुरु भएको छ। मिथिलाको प्रमुख पर्वका रूपमा मानिने छठका लागि जलाशय, नदी र तलाउहरूमा सरसफाइ देखि सजावट सम्मका काम तीव्र गतिमा भइरहेका छन्।

जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रूव राय का अनुसार सूर्य भगवान र छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका पोखरी र नदी घाटहरूमा तयारी सुरु भएको हो।
जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंह ले पनि घाट निर्माण, सडक मर्मत, खाल्डाखुल्डी पुर्ने र सरसफाइको काम भइरहेको जानकारी दिए।

मिथिलावासीका लागि छठ निष्ठा र श्रद्धाको पर्व भएकाले एक साता पहिलेदेखि नै तयारी सुरु गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार ले बताए।
सूर्य तथा छठी माताको पूजाका लागि जलेश्वर–८ स्थित पाठक पोखरीमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण भइरहेको छ। पानीमै तैरिने बाँसको बाटोमार्फत मन्दिरसम्म पुग्ने व्यवस्था गरिएको र करिब पाँच सय मिटर लामो ‘गुफाबाला’ पण्डालमा विभिन्न साजसज्जा तथा बत्ती जडान भइरहेको छठ पूजा समिति संयोजक केशव झा ले जानकारी दिए।
यसैगरी, जलेश्वर नगरपालिका–१ स्थित बरुण सरोवरमा पनि आकर्षक पण्डाल र रंगीचंगी साजसज्जाका काम भइरहेको वडा अध्यक्ष अनिल झा ले बताए।

महोत्तरीका मटिहानी, गौशाला, औरही, बलवा र लोहारपट्टी लगायत स्थानका नदीहरूमा पनि छठ पर्वका तयारी तीव्र छन्। ती स्थानमा नदी सफाइ, घाट निर्माण र प्रकाश व्यवस्थाको काम भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्ण ले बताए।

चार दिन सम्म चल्ने छठ पर्वमा सूर्य भगवान र छठी माताको आराधना गर्दै व्रत बस्ने प्रथा सँगै मिथिलाञ्चलभर श्रद्धा र उल्लासका साथ यो पर्व मनाइँदै आएको छ।




.gif)





