काठमाडौँ । कात्तिक ५, हिन्दू धर्मावलम्बीहरूले आज कार्तिक शुक्ल प्रतिपदा अर्थात् तिहारको चौथो दिन गोरु तिहार तथा गोवर्द्धन पूजा विधिपूर्वक मनाइरहेका छन्।
आजको दिन गोरु र कृषकहरूको विशेष पूजा गरी मीठा परिकार खुवाउने परम्परा छ। वर्षभर खेत जोत्ने गोरुलाई सेवा र योगदानका प्रतीकका रूपमा पूजाआजा गर्ने चलन रहिआएको छ। गोरुलाई देवाधिदेव महादेवको वाहनको रूपमा पनि पूजा गरिन्छ।
यसै अवसरमा हलो जोत्ने हलि र अन्य कृषकहरूलाई समेत सम्मानस्वरूप पूजा गरी मिष्ठान्न परिकार खुवाइन्छ। यस कारण आजको दिनलाई ‘हली तिहार’ पनि भनिन्छ।
यसका साथै आज गोवर्द्धन पूजा पनि मनाइँदैछ। आँगनमा लिपपोत गरी गाईको गोबरले पर्वत बनाइ त्यो पर्वतलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने परम्परा रहिआएको छ।
धार्मिक विश्वास अनुसार द्वापर युगमा भगवान श्रीकृष्णले गोवर्द्धन पर्वत उठाई गोकुलवासीलाई भीषण वर्षाबाट जोगाएको स्मृतिमा यो पूजा गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार गोवर्द्धन पूजा सूर्य उदायो पछि, प्रतिपदाका दिनमै गर्नुपर्ने विधि रहिआएको छ।




.gif)





