काठमाडौँ । कात्तिक ३, आज तिहारको तेस्रो दिन, लक्ष्मीपूजा, देशभर दीपावली गरी ऐश्वर्य, धन र सम्पन्नताको प्रतीक देवी लक्ष्मीको पूजा गरिँदैछ। धार्मिक मान्यता अनुसार लक्ष्मी सफा र सजिएको घरमा मात्र वास गर्छिन्, त्यसैले आज बिहानैदेखि घर आँगन सफा सुग्घर पारिएको छ।
लक्ष्मीपूजाको दिनलाई सुखरात्री पनि भनिन्छ। आज साँझ गाईको गोबर र रातोमाटोले घरको मूलढोका देखी पूजाकोठा सम्म लिपपोत गरी, चामलको पीठो र अबिर प्रयोग गरेर लक्ष्मीका पाइलाहरू बनाई देवीलाई घरमा आमन्त्रण गरिन्छ। पाइलैपिच्छे केराको सुत्लो र माटाका दीप प्रज्ज्वलन गरिन्छ, जसले घरभरि झिलीमिली रौनक थप्दछ।

पूजाको बेला दियो, कलश, गणेश, लक्ष्मीको मुर्ति वा तस्वीर, गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी, फूलमाला आदिले विधिपूर्वक पूजन गरिन्छ। पूजापछि कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी दक्षिणा दिने प्रचलन पनि रहेको छ।
धर्मशास्त्रविद् डा.देवमणि भट्टराईका अनुसार, मध्यरातमा नारीहरूले नाङ्लो ठटाएर अलक्ष्मी भागोस्, लक्ष्मीको आगमन होस् भन्ने कामना गर्ने शास्त्रीय विधि छ।

आजको रात भैलो खेल्ने चलन पनि उत्तिकै महत्वपूर्ण छ। युवतीहरूको समूहले घरघरमा गई भैलो गाउने प्रचलन छ। यो राजा बलिले भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन शासन गर्ने वर पाएको सम्झनामा खेलिन्छ। भलो होस् भन्ने शब्दलाई समयक्रममा भैलो को रूप दिइएको बताइन्छ।
भैलो खेल्न आउनेलाई धान, चामल, सेलरोटी, पैसा र फूलमाला दिएर स्वागत गरिन्छ। यो दान कात्तिकको पुण्यदायी दान मानिन्छ, नदिए अपशकुन र दिए पुण्य लाभ हुने विश्वास गरिएको छ।

शहर बजार, गल्लीटोलहरू आज साँझ दीपमालिकाले झिलिमिली बन्दैछन्। कतिपय ठाउँमा परम्परा अनुसार गाईको पूजा पनि आजै गरिएको छ, यद्यपि शास्त्रीय विधिअनुसार गाईपूजा भोलिपल्ट, अर्थात् कात्तिक शुक्ल प्रतिपदामा गर्नुपर्ने उल्लेख छ।




.gif)





