काठमाडौँ । कात्तिक १, सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आजदेखि मिथिला क्षेत्र सहित महोत्तरीमा यसपालिको तिहार पर्व सुरु भएको छ। दीपावलीको पहिलो दिन ‘धनतेरस’ आज अपराह्न १३ः२३ पछि त्रयोदशी तिथि प्रारम्भ भएसँगै मनाइँदैछ।
मिथिलामा ‘यमपञ्चक’ वा ‘दिवाली’ भनेर चिनिने यो पर्व सामान्यतया पाँच दिनको हुने भए पनि यसपालि तिथिको भोग घटबढका कारण ६ दिनको भएको छ। मैथिल परम्परा अनुसार पर्वको पहिलो दिन नयाँ धातुका समान किनेर लक्ष्मीको आराधना गर्दै ‘धनतेरस’ मनाउने गरिन्छ। आज अपराह्न त्रयोदशी तिथि प्रारम्भ भएसँगै यो पूजाआरम्भको शुभ समय ठानिएको छ।
बर्दिबास–२ का पण्डित दिनेशकुमार झाका अनुसार, धनतेरस, काक पूजा, लक्ष्मी पूजा, गाई पूजा र भाइटीका फरकफरक दिनमा परेका छन्। आज धनतेरस मनाइए पनि काक पूजा र धन्वन्तरी जयन्ती भोलि आइतबार, लक्ष्मी पूजा सोमबार र गाई पूजा मङ्गलबार गरिनेछ। भाइटीका भने बिहीबार परेको छ।
मिथिला क्षेत्रमा आजै साँझदेखि उज्याला बत्ती बालेर घरघरमा नयाँ किनिएका धातुका सामान र लक्ष्मी देवीको पूजाआराधना गरिँदै छ। पर्व सुरु भएसँगै बजारमा तामा, पित्तल, काँस, सुनचाँदीका समान र गहनाको बिक्री व्यापक भएको छ। मिथिलामा आजको दिन किनिएको सामान शुभ, टिकाउ र नाफामूलक हुने जनविश्वास रहेको छ।




.gif)





