काठमाडौँ । असोज ३०, नेपाल सहित विश्वभर आज अक्टोबर १६ (असोज ३०) का दिन ४५औँ विश्व खाद्य दिवस मनाइँदैछ। स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो।
स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइन्छ। दिवसका अवसरमा कृषि विभागले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) खाद्यका लागि कृषि अभियान लगायतका संस्थाहरूसँग समन्वय गरी विभिन्न कार्यक्रम आयोजना गरेको छ।
दिवसलाई प्रभावकारी रूपमा मनाउन कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। विभागका अनुसार दिवसका अवसरमा खाद्य प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर प्रकाशन, सन्देश प्रसारण लगायतका विविध गतिविधिहरू सञ्चालन गरिने छन्।
महानिर्देशक सञ्जेलले भोकमरी न्यूनीकरण र पोषण सुधारका अभियानहरूलाई प्रवर्द्धन गर्न यो दिवसले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहकार्यमा जनचेतनामूलक प्रचार प्रसार, अन्तरक्रिया कार्यक्रम र लेखरचना प्रकाशन पनि गरिनेछ।
संयुक्त राष्ट्रसङ्घको २०औँ साधारण सभाले सन् १९७९ मा (एफएओ) को स्थापना दिवसका अवसरमा विश्व खाद्य दिवस मनाउने निर्णय पारित गरेको थियो। त्यसयता सन् १९८१ देखि हरेक वर्ष अक्टोबर १६ मा यो दिवस मनाइँदै आएको छ।




.gif)





