काठमाडौँ । असोज २८, प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरी चन्दा संकलन गर्ने कार्यबारे केही जानकारीहरू सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्ता गतिविधिहरूलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।
कार्यालयका प्रवक्ता एवं सहसचिव रविलाल शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कि प्रधानमन्त्री कार्यालय वा प्रधानमन्त्रीको तर्फबाट कुनै व्यक्ति वा समूहलाई चन्दा संकलन गर्न अनुमति दिइएको छैन।
केही व्यक्तिहरूले प्रधानमन्त्रीको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि चन्दा मागेको भन्ने जानकारीप्रति कार्यालयको ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ।
प्रवक्ता शर्माले यस्ता भ्रामक र अनधिकृत गतिविधिहरूमा विश्वास नगर्न र कसैले चन्दा वा सहयोगको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न सबैमा अनुरोध गरेका छन्।
साथै, यस्ता गैरकानुनी गतिविधि देखिएमा वा फेला परेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत आग्रह गरिएको छ।
प्रधानमन्त्रीको नाममा दुरुपयोग गरी चन्दा संकलन गर्न खोज्नेहरूलाई आवश्यक कानुनी कारबाही गरिने कार्यालयले स्पष्ट पारेको छ।




.gif)





