काठमाडौँ । असोज २७, तिहार पर्व नजिकिँदै गर्दा महोत्तरी जिल्लाका सर्वसाधारणलाई आफ्नै घर आँगन र करेसामा फुलेका फूलहरूले नगद आम्दानी दिलाउन थालेका छन्। विशेषगरी सयपत्री र मखमली फूलको माग बढेसँगै व्यापारीहरू गाउँ गाउँमा पुगेर अग्रिम रकम दिई फूल बुक गर्न थालेका छन्, जसले यहाँका स्थानीयवासीलाई दंग बनाएको छ।
भङ्गाहा–५, राजपुरकी गृहिणी हरिप्रिया महतो भन्छिन्, “घर वरिपरि भएका करिब ५० जति सयपत्रीका बोट हेरेर व्यापारीले एक हजार रुपैयाँ बैना दिई गए। अब बुझियो, यो फूल त आम्दानीको राम्रो माध्यम हुने रहेछ।”
त्यस्तै, उहाँकी छिमेकी रामवती चौधरीले पनि करिब ६०–६५ बोट सयपत्री र १५–१६ वटा मखमली फूलबाट दुई हजार रुपैयाँ कमाइ सकेको बताउनुहुन्छ। “पहिला त फुल बाट पैसा पाइन्छ भन्ने थाहै थिएन,” उहाँ भन्छिन, “अब त आउने वर्षको तिहारका लागि २०० बोट फूल लगाउने सोच बनाएकी छु।”
मिथिला क्षेत्रमा तिहार (दीपावली) को समयमा काग पूजा, लक्ष्मी पूजा, गोधन पूजा, भैयादुज आदि अवसरमा फूलको अत्यधिक प्रयोग हुने परम्परा छ। यही कारणले गर्दा तिहार अघि फूलको माग अत्यधिक हुने गरेको छ। यसै सन्दर्भमा व्यापारीहरू बस्तीबस्ती पुगेर फूल संकलन गर्न थालेका छन् र मूल्य पनि आकर्षक दिएका छन्।
यद्यपि जिल्लामा फूलको व्यावसायिक खेती अझै विस्तार भएको छैन, तर कृषि विज्ञहरू यसमा सम्भावना देखिरहेका छन्। कृषि ज्ञान केन्द्र महोत्तरीका सूचना अधिकारी अविरल महतोका अनुसार, “दीपावली, छठ र अन्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमका लागि फूलको माग अत्यधिक हुने भएकाले व्यावसायिक फूल खेतीले भविष्यमा भरपर्दो आम्दानीको माध्यम बन्न सक्छ।”
स्थानीयहरू अब घरमै उत्पादन हुने फूलबाटै नगद आम्दानी हुने देखेर उत्साहित छन्। यसले ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि बढ्दै गएको छ।




.gif)





