हुम्ला । असोज २६, लगातार दुई दिनदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध बनेको हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको न्यालु खण्डमा हिउँ पन्छाउन स्काभेटर परिचालन गरिने भएको छ।
आज सदरमुकाम सिमकोटबाट स्काभेटर त्यस क्षेत्रमा पठाइएको पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैसीले जानकारी दिनुभयो। उहाँका अनुसार स्काभेटर सोमबार बिहान लक्षित क्षेत्रमा पुग्ने र त्यस दिन देखि नै हिउँ पन्छाउने काम सुरु हुनेछ। यदि दिनरात काम गरेर समयमै हिउँ हटाउन सकिएमा मङ्गलबार देखि सडक सञ्चालनमा आउने बताइएको छ।
हिउँका कारण न्यालु खण्ड अवरुद्ध भएपछि तुम्लिङमा रोकिएका यात्रु तथा सवारीसाधनहरू सदरमुकाम सिमकोट फिर्ता भइसकेको जैसीले जानकारी दिनुभयो।
पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिका अन्तर्गत पर्ने लिमीको पदयात्रा सकेर सिमकोट फर्किने क्रममा ४० जनाभन्दा बढी यात्रु हिमपातका कारण न्यालुको बाटो छिचोल्न नसकी तुम्लिङमै रोकिएका थिए।




.gif)





