काठमाडौँ । असोज २६,नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुका किसानहरू मखमली फूल टिप्ने र माला उन्ने काममा व्यस्त देखिन्छन्। तिहारमा मखमली, सयपत्री, र गोदावरी फूलको अत्यधिक प्रयोग हुने गर्दछ।
गुण्डुका अधिकांश किसानले मखमली फूल खेती गर्दै आए पनि परिश्रम अनुसार उचित मूल्य नपाएको गुनासो गरिरहेका छन्। किसान शहदेव बस्नेतका अनुसार, १० वर्षअघि प्रतिगोटा मखमली मालाको मूल्य ३३ रुपैयाँसम्म पुग्थ्यो भने हाल १८ देखि २३ रुपैयाँसम्म मात्रमा बिक्री हुने गरेको छ।
बीस वर्षदेखि मखमली फूल खेती गर्दै आएकी किसान गंगा थापाले पनि त्यसै प्रकारको समस्या बताएकी छन्। उनले सरकारसँग तिहारका लागि मालाको मूल्य निर्धारण गर्न माग गरेकी छन्, जसरी दशैंमा खसी बोकाको मूल्य निर्धारण गरिन्छ।
फूल उत्पादनमा मौसमका कारण चुनौती थपिएको किसानहरू बताउँछन्। अत्यधिक वर्षा, किराको आक्रमण र बीउ समस्या प्रमुख छन्।
किसान निर्मला बस्नेतले भने यस वर्ष मालाको माग बढेको र व्यापारीहरू घरमै माला लिन आउन थालेको बताइन्। उनले हालसम्म १,२०० माला बिक्री गरिसकेको जानकारी दिइन् भने गत वर्ष २,००० माला बेचेकी थिइन्।
किसान राधा थापा र अनिता बस्नेतले पनि मालाको मूल्य निर्धारणको आवश्यकता औँल्याउँदै विचौलियाका कारण किसान घाटामा परिरहेको र उपभोक्ताले पनि महँगोमा माला किन्नु परेको गुनासो गरे।
किसानहरूले सरकारसँग बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न माग गरेका छन्। तिहारजस्तो चाडपर्वमा किसानको पसिना बगेर पनि नाफा अर्कैले लिने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनीहरूको भनाइ छ।




.gif)





