काठमाडौँ । असोज २०, बाढी र वर्षाका कारण बन्द भएका हेटौँडा काठमाडौँ जोड्ने प्रमुख सडकहरू पुनः सञ्चालनमा आएका छन्। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले कान्ति लोकपथ बाहेक सबै वैकल्पिक सडक खुला छन्।
प्रहरीका अनुसार हेटौँडा,भीमफेदी,फाखेल,काठमाडौँ मार्ग र त्रिभुवन राजपथ बिहानैदेखि सञ्चालनमा आएका हुन्। यस्तै, हेटौँडा,भीमफेदी,सिस्नेरी–काठमाडौँ सडकखण्ड पनि मर्मत पछि आज दिउँसो १२ बजेदेखि सञ्चालनमा आएको छ।
सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँतर्फ जाने सवारीसाधनलाई प्रवेश दिइएको छ भने हेटौँडातर्फ फर्कने गाडीका लागि फाखेल कुलेखानी मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
असोज १८ गते इन्द्रसरोवर गाउँपालिका–३ डोढारे क्षेत्रमा आएको बाढीका कारण सिस्नेरी मार्ग अवरुद्ध भएको थियो। मर्मतपश्चात पुनः सञ्चालनमा ल्याइएको प्रहरीको भनाइ छ।
यद्यपि हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ भने अझै बन्द छ। मकवानपुरतर्फ चार स्थानमा पहिरो पन्छाउन बाँकी रहेकाले त्यहाँ यातायात सञ्चालन हुन सकेको छैन।
साथै, नारायणगढ हुँदै काठमाडौँ आवतजावत गर्न प्रयोग हुने मार्ग पनि अहिले पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।




.gif)





