काठाडौँ । असोज १८, हिजोदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको चितवन–धादिङ खण्डमा पहिरोको जोखिम बढेको छ। विभिन्न स्थानमा ढुङ्गा र माटो खस्दा यातायातमा अवरोध देखिएको छ।

धादिङको वेनिघाट रोराङ गाउँपालिकास्थित जवाङ खोलामा बिहान ६ बजेतिर गएको पहिरोका कारण सडक पूर्णरूपमा बन्द भएको थियो। यद्यपि केही समयअघि पहिरो हटाएर दुबैतर्फको सवारी आवागमन सुचारु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।

त्यसैगरी, चितवनतर्फको तुइनखोलामा ढुङ्गा खस्दा अहिले सडक एकतर्फी मात्र सञ्चालन भइरहेको छ। तुइनखोला र जवाङ खोला आसपासका क्षेत्रमा पहिरोका घटनाहरू पटक–पटक दोहोरिँदै आएकोमा हालको निरन्तर वर्षाले जोखिम झनै बढाएको छ।

चितवन प्रहरीले अन्य स्थानहरूमा पनि सडकमा ढुङ्गा खस्ने घटनाहरू भइरहेकाले यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न अपिल गरेको छ। यात्रामा निस्कँदा मौसमको अवस्था र सडकको अवस्थाबारे जानकारी लिएर मात्र हिँड्न अनुरोध गरिएको छ।




.gif)





