काठमाडौँ । असोज १४, बडादशैँको चहलपहल तीव्र भइरहेका बेला हालसम्म काठमाडौँ उपत्यकाबाट साढे पाँच लाखभन्दा बढी मानिस बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना देखि आज बिहान सम्म ५ लाख ५३ हजार २६१ जनाले उपत्यका छाडेका हुन्।
उपत्यकाबाट बाहिरिने यात्रुको चाप उच्च रहेकाले सवारी नाका तथा पार्किङस्थलहरूमा थप ट्राफिक प्रहरी खटाइएको छ। ट्राफिक कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार यात्रुको सहजता र सुरक्षाका लागि विशेष व्यवस्था गरिएको छ।
“यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली सक्रिय छन्,” अधिकारीले जानकारी दिए, “ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ।”

दशैँको यस अवधिमा काठमाडौँ उपत्यकामा आउनेहरूको संख्या पनि उल्लेख्य देखिएको छ। पछिल्लो तथ्याङ्क अनुसार ७२ हजार ४१ सवारी साधनमार्फत २ लाख ८५ हजार ३०८ जना काठमाडौँ उपत्यका भित्रिएका छन्।
दशैँ नजिकिएसँगै उपत्यकाभित्र र बाहिर दुवैतर्फ यात्रुको चाप थप बढ्ने अनुमान गरिएको छ।




.gif)





