काठमाडौँ । असोज १४ – चितवन, पहिरोका कारण सोमबार दिनभर अवरुद्ध रहेको मुग्लिन–नारायणगढ सडकखण्ड साँझदेखि पुनः सञ्चालनमा आएको छ। तुईन खोला पुल नजिकै गएको पहिरो साँझ करिब ६ः०० बजे पन्छाए पछि सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरोका कारण दिउँसो १२ः०० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डको दुवै दिशामा सवारी आवागमन बन्द भएको थियो।
लगातारको वर्षासँगै गएको पहिरोले उक्त सडकखण्डमा पछिल्लो एक सातादेखि नियमित रूपमा सवारी सञ्चालनमा अवरोध सिर्जना गरिरहेको छ। पटक–पटक पहिरो झर्ने समस्याले गर्दा यात्रुहरूलाई सास्ती व्यहोर्नु परेको छ भने यातायात सेवा पनि प्रभावित हुँदै आएको छ।
प्राविधिक टोलीको प्रयासपछि अहिले सडक सञ्चालनमा आएको र सवारी आवागमन सहज रूपमा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।




.gif)





