काठमाडौँ । असोज १३, हिन्दू धर्मावलम्बीहरूको महान् चाड बडादसैँ २०८२ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले आइतबार जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्यता एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। उहाँले दसैँ पर्वले राष्ट्रप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्दै भन्नुभएको छ, “बडादसैँ, २०८२ ले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा विकास गर्न सकोस्।”
साथै, उहाँले हाल मुलुकमा उत्पन्न भएको विषम परिस्थिति, मानवीय तथा भौतिक क्षतिको उचित व्यवस्थापन गरी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ। समग्र राष्ट्रको कल्याणका लागि संयमित रही सहकार्य र सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दै राष्ट्रपति पौडेलले सबै समस्या समाधानका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ।
उता, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि विजयादशमी, २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पर्वहरूले परम्परागत मूल्य, जीवनशैली र सामाजिक सम्बन्ध सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “विजयादशमीले संविधानले सुनिश्चित गरेका अधिकार, नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वप्रति जनताको अपेक्षा थप प्रगाढ बनाउन उत्प्रेरित गरोस्।”
संविधानको पालनामा सबै पक्षले संयमता, संवाद र सहकार्यको मार्ग अँगाल्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। असत्य, अन्याय तथा समाजमा बढ्दो ध्रुवीकरण र विभाजनका विरुद्ध विजयादशमीले एकताको भावना जागृत गरोस् भन्ने शुभेच्छा समेत उहाँले व्यक्त गर्नुभएको छ।




.gif)





