काठमाडौँ । असोज ११, दसैँका अवसरमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटोहरू सहज भइसकेको सडक विभागले जनाएको छ। मुलुकका अधिकांश मुख्य राजमार्गमा पहिरो पन्छाउने र सुधार गर्ने काम सकिएकाले अब यात्रुहरूले बाटोमा ठूलो असुविधा नपाउने विभागले विश्वास व्यक्त गरेको छ।
यसअघि पृथ्वी राजमार्ग, अरनिको राजमार्ग लगायतका मुख्य मार्गहरूमा पहिरोका कारण यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको थियो। विशेषगरी मुग्लिन–नारायणघाट सडकखण्ड पहिरोले अवरुद्ध हुँदा यात्रुहरू ४० घण्टाभन्दा बढी समय ट्राफिक जाममा बस्न बाध्य भएका थिए।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बताए, “दसैँका लागि यात्रु बाहिरिने क्रम सुरु हुना साथ मुख्य राजमार्गहरूमा पहिरोका कारण अवरुद्ध भएको थियो। तर विभागका कर्मचारीहरूले २४ घण्टा खटिएर पहिरो पन्छाउने काम सम्पन्न गरेका छन् र हाल बाटो सहज भइसकेको छ।”
हाल चारवटा मुख्य राजमार्ग पूर्ण रूपमा सञ्चालनमा छन् भने एक सय ७१ राजमार्गहरू एकतर्फी रूपमा संचालन भइरहेको छ। यद्यपि, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी मार्गहरू अवरुद्ध छन् जसका कारण रसुवागढी क्षेत्रमा यातायात ठप्प छ। सडक विभागले एक्साभेटर र लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास जारी रहेको जनाएको छ।
गत साउन १४ गते चीनबाट आएको बाढीका कारण ठोरी–भण्डारा–मलेखु मार्ग कटान भएको हो। त्यस्तै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ र ६ जोड्ने रानीपुल बेलीब्रिज पनि पूर्ण रूपमा क्षति भएको छ। पाँच वर्षअघि निर्माण गरिएको उक्त पुल गत साउन ६ गते आएको बाढीले बगाएको थियो। अहिले रेमिट हाइड्रोबाट पुनः पुल निर्माणका लागि पहल भइरहेको छ।
यसैगरी रसुवाको तातोपानी र टिमुरे, सङ्खुवासभाको अल्फटेमा पनि यातायात अवरुद्ध रहेको छ। विभागले ठूलो वर्षा नहुने हो भने बाटोहरूमा थप समस्या नआउने विश्वास व्यक्त गरेको छ।




.gif)





