पोखरा । असोज १०, माछापुच्छ्रे बैंक लिमिटेडको २७औं वार्षिक साधारणसभा शुक्रबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ। सभाले बैंकको आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
बैंकका अनुसार पारित लाभांश मध्ये ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर हुनेछ। नगद लाभांश दशैं अघि नै सम्बन्धित सेयरधनीको खातामा पठाइसक्ने जानकारी बैंकले दिएको छ।
बोनस सेयर वितरणपछि बैंकको कुल चुक्ता पुँजी १२ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ। गत आर्थिक वर्षमा बैंकले १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै प्रतिशेयर आम्दानी १६ रुपैयाँ २१ पैसा कायम गरेको थियो।
उक्त साधारणसभामा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। चालु आर्थिक वर्षमा साधारणसभा सम्पन्न गरी लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको छ।




.gif)





