काठमाडौँ । गीतकार डा.रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दशैंका लागि राहत वितरण गरेका छन् । विपन्न निमुखा दुई सयजना चेपाङहरूलाई दशैँ मान्न सजिलो होस् भनेर उनले चामल, चिउरा र न्यानो कपडा, ओढ्नको लागि कम्बल वितरण गरेका हुन् । पूर्वी चितवन रोटरी क्लबको समन्वय रहेको कार्यक्रममा उनकी धर्मपत्नी लक्ष्मीसहितको टोलीले राहत दिएको हो ।
गरिब, निमुखाको घरमा पनि दशैँ लागोस् भनेर आफूले सक्दो राहत वितरण गरेको गीतकार अधिकारीले बताए । अधिकारीले अत्ति विपन्न परिवारलाई यस्तो सहयोग गर्न पाउँदा खुसी लागेको धारणा राखेका थिए ।‘मैँले चितवन जस्तो विकसित र शिक्षित जिल्लामा पनि यति धेरै विकट ठाउँ, चरम गरिबी, अशिक्षा अनि भोकमरी होला भन्ने सोचेको थिइन् ’, अधिकारीले भने ‘यो कल्पना भन्दा बाहिर थियो, जहाँको भौगोलिक विकटता, न्यूनतम आधारभूत आवश्यक्ताहरु अभावका साथसाथै चेतनाको स्तर समेत आजको २१औं शताब्दीमा यस्तो शून्य अवस्था देख्दा मुटु, धड्कन र मस्तिष्क नै ठप्प भएर रोकिएको अनुभव भयो ।’ अधिकारी गीतकारका अलावा ज्योतीस तथा समाजसेवी पनि हुन् ।
कार्यक्रममा पूर्वीचितवन रोटरी क्लबका अध्यक्ष गुणबहादुर अर्याल, संस्थापक अध्यक्ष तथा स्थानीय समाजसेवी राममणि न्यौपाने, पूर्वअध्यक्ष परमात सेढाईलगायतले राहत वितरणमा सहजीकरण गरेका थिए ।




.gif)





