पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ। पूर्वी खण्ड अन्तर्गत ४१.७ किलोमिटर मध्ये २३ किलोमिटरमा चार लेन र आठ किलोमिटरमा दुई लेनको सडक कालोपत्र गरिएको छ।
तनहुँको आँबुखैरेनी, डुम्रे, व्यास र म्याग्दे खण्डका विभिन्न स्थानमा कालोपत्र गरिएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए। उनका अनुसार यस खण्डमा ६० प्रतिशतभन्दा बढी कार्य भइसकेको छ।
‘वैशाख २ गतेदेखि एक सय ५५ दिन म्याद थप गरिएकाले थपिएको म्यादभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाएका छौँ,’ इन्जिनियर पाण्डेले भने। कोरोनाका समयमा निर्माण प्रभावित भएकाले सम्झौताअनुरूप काम सम्पन्न नभएपछि सरकारबाट म्याद थप गरिएको उनले बताए।
इन्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् भने दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीनवटा ठूला पुलको काम भइरहेको छ। मुग्लिन–पोखरा सडक विस्तारलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरी कामलाई तीव्रता दिइएको आयोजना कार्यालयले जनाएको छ।
पश्चिम खण्डको ३८.८८ किलोमिटर सडक निर्माण भइरहेको भन्दै हालसम्म २५ प्रतिशत कार्य प्रगति भएको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए। उनका अनुसार १५ किलोमिटरमा दुई लेनको सडक कालोपत्र भइसकेको छ । राजमार्गअन्तर्गत पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ निर्माण भइरहेका उनको भनाइ छ ।
पश्चिम खण्डमा करिब दुई हजार दुई सय विद्युतका खम्बा हटाइनेछ । ‘हालसम्म राजमार्गको दायाँबायाँ रहेका ५० प्रतिशतभन्दा बढी पोल हटाएर काम भइरहेको छ,’ इन्जिनियर पौडेलले भने। उनका अनुसार तनहुँ खण्डको खैरेनीटारबाट कोत्रेबारीसम्म र कास्कीको कोत्रेपारिबाट तल्लो गगनगौँडासम्म पोल हटाउने काम भइरहेको छ।




.gif)





