काठमाडौँ । भदौ २०, गण्डकी प्रदेशको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा आगामी कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगको भदौ १८ गते बसेको बैठकले रिक्त पद पूर्तिका लागि उपनिर्वाचनको मिति तोकेको हो। आयोगले सो निर्णयसहितको पत्र जिल्ला निर्वाचन कार्यालयलाई पठाइसकेको छ।
उक्त क्षेत्रका निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठहरिएपछि सो पद रिक्त भएको हो। गुरुङ संविधानको धारा १७८ (१) (ङ) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (छ) बमोजिम उम्मेदवार हुन अयोग्य ठहरिएका थिए। सर्वोच्च अदालतको संवैधानिक इजलासले २०८२ असार ४ गते फैसला गर्दै गुरुङको पद २०८१ कात्तिक २० गतेदेखि रिक्त हुने ठहर गरेको थियो।
निर्वाचन आयोगले संविधानको धारा १७६ को उपधारा (८) अनुसार छ महिनाभन्दा बढी कार्यकाल बाँकी रहँदा रिक्त पदको उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप कात्तिक १७ गते निर्वाचन गर्ने निर्णय गरेको हो।
मतदाता नामावली र तालिका
जिल्ला निर्वाचन कार्यालयका अनुसार उपनिर्वाचनका लागि २०८२ साल भदौ २५ मा अद्यावधिक भएर प्रकाशित अन्तिम मतदाता नामावली नै प्रयोग गरिनेछ। मतदाता बन्न १८ वर्ष उमेर पुगेको मिति भने कात्तिक १६ गते तोकिएको छ।
अघिल्लो निर्वाचनमा मनाङ जिल्लामा कुल ६,७७९ मतदाता रहेकामा ७१.४७ प्रतिशत मत खसेको थियो। उपनिर्वाचन हुने मनाङ–२ प्रदेशसभा क्षेत्रका लागि ४,१९७ जना मतदाता रहेका छन्।
निर्वाचन कार्यतालिका
जिल्ला निर्वाचन कार्यालयका अनुसार उपनिर्वाचनका लागि निम्न कार्यतालिका तय गरिएको छः
भदौ १३ः निर्वाचन अवधि सुरु
भदौ २०ः निर्वाचन अधिकृतको कार्यालय स्थापना
असोज २१ः उम्मेदवार मनोनयन दर्ता
असोज २५ः उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरण
कात्तिक ११ः मतदान अधिकृत तथा कर्मचारीको नियुक्ति
कात्तिक १७ः मतदानको दिन
गत प्रदेशसभा निर्वाचनमा दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका थिए भने प्रतिनिधिसभामा मात्र मतदान भएको थियो।




.gif)





