ताप्लेजुङको फुङलिङ नगरपालिकाले जथाभाबी फोहोर फाले २ हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुन ल्याएको छ । चालु आर्थिक बर्ष २०८२।८३ का लागि बनाइएको नियम अनुसार सार्वजनिक स्थलमा जथाभाबी फोहोर फाल्ने व्यक्तिले पहिलो पटकका लागि ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । हेलचेक्र्याइँ गरी दोस्रो पटक समेत सार्वजनिक स्थलमा फोहोर फाले १ हजार रुपैयाँ र तेस्रो पटक २ हजार रुपैयाँ जरिवाना तिनुपर्ने गरी नगरपालिकाले नियम ल्याएको छ ।
नगरपालिकाले पटक–पटक सार्वजनिक स्थलमा फोहोर फाली अटेर गरेमा कानुन अनुसार गर्न सम्बन्धित निकायमा लेखी पठाउने भएको छ । नगरपालिकाले गुणस्तरहीन मासुजन्य पदार्थ बिक्री वितरण गरेमा जफत तथा नष्ट गरी पहिलो पटकका लागि २ हजार,दोस्रो पटकका लागि ४ हजार तेस्रो पटकका लागि ८ हजार रुपैयाँ जरिवाना तिराउने भएको छ । खुल्ला ठाउँमा बध गर्ने तथा बेचबिखन गर्ने कार्य गरेमा पनि नगरपालिकाको कानुनी फन्दामा परिने भएको छ । यस्तो कार्य गरेको भए पहिलो पटकका लागि ५ सय,दोस्रो पटकका लागि १ हजार र तेस्रो पटकका लागि २ हजार रुपैयाँ जरिवाना तिनुपर्ने गरि नगरपालिकाले नियम बनाएको छ ।
यी सबै कार्यको सूक्ष्म र नियमित अनुगमनका लागि नगरपालिका नगर प्रहरी समेत परिचालित गर्न सक्ने भएको छ । नगरपालिकाको बजार अनुगमन समितिको अनुगमनका क्रममा उपभोक्तालाई हानी नोक्सानी हुने तथा गम्भीर कानुन प्रतिकुलसम्मका कैफियत देखिएमा व्यवसाय बन्दसम्मको सिफारिस लेख्ने गरी नगरपालिकाले अनुगमन कार्यमा कडाइका साथ प्रस्तुत हुन सङ्केत गरेको छ । नगरपालिकाले बजार अनुगमनका लागि कार्यविधि नै बनाई सोही अनुसार परिचालन गर्ने गरी व्यावसायिक कैफियत देखिएमा पहिलो पटकका लागि कैफियत देखिएका सामानको बिक्री मूल्यको दोब्बर तथा दोस्रो पटकका लागि तेब्बर रकम जरिवाना लिने भएको छ ।
तेस्रो पटकको अनुगमनका क्रममा समेत कैफियत दोहोरिएको देखिएमा अनुगमन समितिको सिफारिसका आधारमा नगरपालिकाले व्यवसाय बन्दका लागि सम्बन्धित निकायमा लेखी पठाउने भएको छ । नगरपालिकाले अनुमति नलिई विद्यालय सञ्चालन गरेको देखिएमा तोकिएको अनुमति शुल्क दरमा प्रतिशत सत प्रतिशत दण्ड जरिवाना गर्ने भएको छ । सडक पेटी अतिक्रमण गरी व्यवसाय सञ्चालन गर्नेलाई पहिलो पटका लागि ५ सय,दोस्रो पटकका लागि १ हजार र तेस्रो पटक समेत यस्तो कार्य गरेमा २ हजार रुपैयाँ जरिवाना तिराइने भएको छ । सडक पेटी अतिक्रमण गरी ठेला गाढा राख्नेलाई पहिलो पटक ३ सय रुपैयाँ,दोस्रो पटक ६ सय,तेस्रो पटक १ हजार रुपैयाँ जरिवाना लिइने भएको छ भने चौथो पटक भेटेमा ठेला गाढा जफत गरी लिलाम ना नष्ट गर्ने नगरपालिकाको नीति रहेको छ । अनुमति प्राप्त विद्यालयले बुझाउनुपर्ने नियमित विवरणहरू(जस्तै शुल्क विवरण,छात्रवृत्ति विवरण,इमिस तथ्याङ्क अपलोड सहितका विवरण)समयमा नबुझाएमा आधारभूत तहलाई १ हजार र मावि तहलाई २ हजार रुपैयाँ जरिवाना लिने नगरपालिकाले निर्णय लिएको छ । सहकारी संघसंस्थाहरुले नियमानुसार बुझाउनुपर्ने प्रतिवेदनहरू नियमित रुपमा नबुझाएमा उनीहरुले समेत जरिवाना तिनुपर्ने भएको छ ।




.gif)





