काठमाडौँ । भदौ १६, सुनसरी निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह उच्च बन्दै गएको छ। आइतबार बेलुकी १०ः०० बजे कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख २६ हजार ५६० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन्।
यसअघि दिउँसो २ः०० बजे गरिएको मापन अनुसार प्रवाह प्रतिसेकेण्ड १ लाख ७४ हजार ३७५ क्युसेक थियो र त्यतिबेला कोशी ब्यारेजका २३ ढोका खोलिएका थिए। बेलुकी सम्ममा प्रवाह अझै बढे सँगै ५६ ढोका मध्ये ३१ ढोका खोलिएको बताइएको छ।
प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप कोशी ब्यारेजमा रातो बत्ती बाल्ने प्रावधान अनुसार अहिले कन्ट्रोल रुमले रातो बत्ती बालिसकेको छ।
प्रवक्ता खतिवडाका अनुसार पहाडी भेगमा लगातार भइरहेको वर्षाले कोशीमा पानीको सतह तीव्र रूपमा बढेको हो। सम्भावित जोखिमका कारण सुरक्षात्मक उपायहरू अपनाउन प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।




.gif)





