काठमाडौँ । उद्योग विभागले भारत सरकारमार्फत भारतीय कम्पनी नेशनल कोअपरेटिभ एक्सपट्र्स लिमिटेड (एनसीएल) बाट ४० हजारमेट्रिक टन गहुँ आयात गर्नका लागि खाद्य तथा मैदा उद्योगहरूबाट प्रस्ताव आह्वान गरेको छ । विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै यसका लागि इच्छुक उद्योगहरूलाई सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।
विभागकाअनुसार तोकिएको समयावधिभित्र गहुँ आयात गर्ने सुनिश्चितता गरेका उद्योगहरूलाई मात्र कोटा वितरण गरिने जनाएको छ ।यसअघि कोटा प्राप्त गरी हालसम्म गहुँ आयात नगरेका उद्योगहरूलाई कोटा प्रदान गरिने छैन ।उद्योगको स्वीकृत योजना को २५ प्रतिशतभन्दा बढी नहुने गरी कोटा प्रदान गरिनेछ। पर्याप्त माग नआएमा बाँकी कोटा सोही अनुसार बाँडफाँड गरिनेछ ।
उद्योग प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेको हुनुपर्नेछ । उद्योगको वार्षिक योजनामा कच्चा पदार्थको रूपमा गहुँ प्रयोग गर्ने उल्लेख हुनुपर्नेछ र सोही योजना अनुसार आयात गर्नुपर्नेछ ।भारतको एनसीएललाई अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा वित्तीय स्रोतको सुनिश्चितता भएको आधार पेस गर्नुपर्नेछ । साथै कोटा प्राप्त भएपछि ३ महिनाभित्र गहुँ आयात गरिसक्नुपर्ने जनाएको छ ।




.gif)





