काठमाडौँ । भदौ ५, काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी चोरी र लुटपाट गर्दै आएका एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
विभिन्न ठाउँमा भइरहेका लुटपाटका घटनाका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त समूहले चोरीकै मोटरसाइकल प्रयोग गर्ने गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिनुभयो। पक्राउ परेका व्यक्तिहरूको विवरण आजै सार्वजनिक गरिएको छ।
प्रवक्ता बोहराका अनुसार लुटपाटमा संलग्न ६ जनालाई चोरी गरिएका मोटरसाइकल सहित पक्राउ गरिएको हो। उनीहरूले मोटरसाइकल चोरी गरेर अपराधका क्रममा प्रयोग गर्दा सजिलै भाग्न सकिन्छ भन्ने सोचले उक्त कार्य गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला घर भई धापासी बस्ने १८ वर्षीय साहिल क्षेत्री, नुवाकोट घर भई फुटुङ बस्ने २५ वर्षीय सङ्ग्राम राई, सुनसरी घर भई फुटुङ बस्ने २१ वर्षीय दीपेश लिम्बू, मकवानपुरको बागमती घर भई टोखा बस्ने २७ वर्षीय शम्भू माझी, रामेछाप घर भइ टोखा बस्ने २० वर्षीय प्रकाश तामाङ र काभ्रेपलाञ्चोक घर भई टोखा बस्ने २२ वर्षीय मिलन तामाङ रहेका छन्।
उनीहरूका साथबाट चोरी भएका बा५२प ३६३० नम्बरको स्कुटर (हाल बा १०प ६३०८ नम्बर प्लेट राखिएको), बा८१प ३३८२ नम्बरको स्कुटर र बा प्र ०२–०२५ प ७११९ नम्बरको स्कुटर समेत बरामद गरिएको प्रहरीको भनाइ छ।
उनीहरू माथि पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




.gif)





