काठमाडौँ । भदौ ३, नेपाल विज्ञापन बोर्डले प्रचलित ऐन, कानुन र नियम विपरीत विज्ञापन प्रसारण गरेको भन्दै नेपाल क्रिकेट सङ्घ (क्यान)लाई चेतावनी दिएको छ।
बोर्डका अनुसार, मङ्सिर १५ देखि पुस ६ सम्म आयोजित नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरू विदेशी कम्पनी ‘फर्स्ट सेन्चुरी मिडिया’मार्फत स्टार स्पोर्ट्स च्यानलमा विज्ञापन सहित प्रसारण गरिएको थियो। उक्त प्रसारणमा जुवा खेलाउने साइटहरूको समेत प्रचार गरिएको भन्ने उजुरी पछि बोर्डले कारबाही प्रक्रिया अघि बढाएको हो।
बोर्डका प्रवक्ता देवी पाण्डे खत्रीले क्यानले पटक–पटक पठाइएको पत्रको सन्तोषजनक जवाफ नदिएको बताए। उनले बोर्डको निर्देशनलाई बेवास्ता गरे भविष्यमा क्यानलाई विज्ञापन गर्न वा गराउन रोक लगाउने चेतावनी समेत दिए।
यसैबीच, सूचीकृत नभई अवैधानिक रूपमा विज्ञापन कारोबार गर्ने एजेन्सीलाई १० हजार रुपैयाँ जरिवाना तथा तीन महिना सम्म कारोबारमा रोक लगाउने निर्णय गरिएको छ। यस अवधिमा ती एजेन्सीहरू बोर्डमा सूचीकृत समेत गरिने छैनन्।
बोर्डले ब्राण्ड डिजिटल लजिक प्राली र टिसिएम स्पोर्टस एन्ड मार्केटिङ प्राली सँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न विज्ञापनदाता तथा सञ्चारमाध्यमहरूलाई आग्रह समेत गरेको छ।




.gif)





