काठमाडौँः भदौ २, सङ्खुवासभा, सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का बीओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेका नेपाल–चीन सिमानाका सीमास्तम्भहरूको संयुक्त निरीक्षण सम्पन्न गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं ४ अरुण गुल्म, चैनपुर अन्तर्गतको किमाथाङ्का सीमा सुरक्षा पोष्ट (बीओपी) र चीनको स्वशासित क्षेत्र तिब्बतका सुरक्षाकर्मीहरू बीच संयुक्त रूपमा सीमा निरीक्षण गरिएको हो। भोटखोला गाउँपालिका–१ अन्तर्गत पर्ने सीमाक्षेत्रमा रहेका सीमास्तम्भहरूको अवस्थाबारे अवलोकन तथा जानकारी लिने उद्देश्यले निरीक्षण गरिएको बताइएको छ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) बाबुराम पौडेलका अनुसार संयुक्त टोलीले सीमास्तम्भ नं ६६, ६७, ६८।२, ६९।१ र ६९।२ को निरीक्षण गरेको हो। निरीक्षण टोलीमा बीओपी किमाथाङ्काका इन्चार्ज नवीन खतिवडाको नेतृत्वमा सात जना नेपाली सशस्त्र प्रहरी, चिनियाँ प्रहरी नायब उपरीक्षक दावा छिरिङको नेतृत्वमा आठ जना सुरक्षाकर्मी र नेपाल प्रहरीका चारजना गरी कुल १९ सुरक्षाकर्मी सहभागी थिए।
किमाथाङ्का क्षेत्रमा हालसम्म २१ वटा सीमास्तम्भ रहेको जनाइएको छ। तीमध्ये गत जेठ महिनामा आएको बाढीका कारण सीमास्तम्भ नं ७१।१ दोङ्गोप्पाखोला र छोकाङखोलाबाट बगाएको थियो, जुन अहिलेसम्म फेला परेको छैन। किमाथाङ्कामा अवस्थित सीमास्तम्भहरू पुराना भइसकेका छन् र मौसमजन्य कारणले थप क्षति हुने सम्भावना रहेको स्थानीय सुरक्षाकर्मीहरू बताउँछन्।
किमाथाङ्का नाका चीनको चाँगाबजार सँग जोडिएको महत्वपूर्ण व्यापारिक र सामरिक नाका हो। यस क्षेत्रमा झण्डै पाँच हजार स्थानीय बासिन्दा बसोबास गर्छन्, जसको जीविका प्रायः सीमापारिको चाँगाबजारमा हुने रोजगारीमा निर्भर छ।
विसं २०३५ मा किमाथाङ्कामा भन्सार कार्यालय स्थापना भए पनि द्वन्द्वकालीन अस्थिरता र अन्य प्रशासनिक कारणले उक्त कार्यालय २०५७ मा सदरमुकाम खाँदबारी सारिएको थियो। खाँदबारी देखि किमाथाङ्का नाका १६२ किलोमिटर टाढा रहेको र हाल सम्म पनि उक्त क्षेत्रमा सडक सुविधा विस्तार हुन नसकेको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन्।




.gif)





