औषधि भनेपछि झट्ट हामीलाई ट्याब्लेट, क्याप्सुल, झोल या इन्जेक्सन आदिको याद आउँछ । औषधिको मूल प्रयोजन कुनै पनि स्वास्थ्य समस्याको निराकरण गर्नु हो । अझ सहज तरिकाले भन्दा कुनै रोग निको पार्नु औषधिको काम हो ।विश्वमा दिनानुदिन मानसिक समस्याहरू बढ्दै गइरहेका छन् । डिप्रेसन विरुद्धको औषधि आविष्कार गर्ने वैज्ञानिक आफैं डिप्रेसनमा गुज्रिरहेका छन्, अनिन्द्रा बेचैनी तथा मनको अशान्तिका विरुद्ध आविष्कारमा होमिएका व्यक्तिहरू आफैँ बेलुका निन्द्रा लगाउने औषधि नखाई निदाउन नसक्ने भएका छन्। कैयन् यस्ता समस्याहरू छन् जुन आजका मितिसम्म आविष्कार भएका औषधिले त्यसलाई निको पार्दैन ।
सबैभन्दा सजिलो उपाय निन्द्रा लगाउने औषधि खुवाउनु भएको छ । मानसिक समस्या व्यवस्थापन गर्न खुवाइएका कतिपय औषधिले झनै समस्या पैदा गइरहेका पनि छन् ।विज्ञान, प्रविधिको विकासले उपलब्ध गराएका कैयौं आधुनिक औषधिहरूले विश्वमा ठूलो क्रान्ति ल्याएको छ । तर कतिपय रोगका लागि औषधि नै चाहिँदैन । केवल सकारात्मक सोच, अनुशासित जीवनशैली र दैनिकीको उचित व्यवस्थापनले धेरै कुरा समाधान हुन्छन्मानसिक तथा शारीरिक रूपमा समेत स्वस्थ रहने एक अदृश्य औषधि हो, सकारात्मक सोच ।
जीवनलाई तनावरहित बनाउन, मानसिक रोगबाट मुक्त हुन सकारात्म सोच राख्नुपर्छ भन्ने धारणा आजको होइन । हिन्दुहरूको धर्मग्रन्थ गीतामा कृष्ण र अर्जुनको संवादलाई हेर्ने हो भने पनि त्यहाँ यसबारे मार्गदर्शन पाइन्छ ।कृष्णले अर्जुनलाई भन्छन्, ‘तिमी केवल आफ्नो निर्धारित कर्म गर, कर्मको फलप्रति आशक्ति नदेखाऊ ।’ काम गर्नुभन्दा अगाडि नै तिमी कर्मफलप्रति अशक्त भयौ भने सफल हुन सक्दैन भनिएको छ । आफ्नो कर्तव्य निर्वाह गरेर वर्तमान जे छ त्यसमा रमाउनुपर्छ भन्ने सन्देश यस भनाइको छ ।अहिले मान्छेहरू आफूसँग प्राप्त कुरामा खुसी हुने, रमाउने भन्दा पनि भविष्यको चिन्ता धेरै गरेको देखिन्छ । अहिले हामीले तपाईं हाम्रो वरिपरिका धेरै मान्छेलाई हेर्यौँ भने पनि उनीहरू भविष्यको तयारीका लागि चाहिने भन्दा बढी नै पिरोलिएको भान हुन्छ ।
विगतका कुरा वा भविष्यबारे बढी सोच्दा वर्तमानमा सही कर्म पनि गर्न सकिँदैन त्यसो भएपछि राम्रो फल प्राप्त हुने कुरा पनि भएन । अन्तत: मानिस विभिन्न प्रकारका मानसिक समस्याबाट गुज्रिन्छ।मनको चञ्चलताका पछाडि दौडिएर, बुद्धिले नियन्त्रण गर्न नसक्नाले, अनियन्त्रित इन्द्रीय भोगको इच्छाबाट शारीरिक मानसिक तथा सामाजिक घटनाहरू घटिरहेका हुन्छन् ।सकारात्मक सोचका लागि गीता पढ्दा निकै फाइदा हुन्छ । सकारात्मक सोचका लागि खप्तड बाबाको विचार विज्ञान भन्ने पुस्तक पढ्दा पनि राम्रै हुन्छ । सकारात्मक सोच, वर्तमानमा जिउने, योग, ध्यान, प्राणायाम जस्ता कुरा मानसिक रोगका लागि आँखाले नदेखिने औषधि हुन् ।यिनीहरू हामीले खाने औषधि कम प्रभावकारी छैनन् ।
मानव शरीरका आफ्नै विशेषता छन् ।सानो खुसीको कुराले तपाईँ प्रफुल्लित हुनुहुन्छ । कहिलेकाहीँ भोक नै हराउँछ, खुसीका बेला भोक लाग्दा पनि काम गर्न उर्जा मिलिरहेको हुन्छ ।अर्कोतर्क सानो चिन्ताले टाउको दुख्ने, खुट्टा झमझमाउने, शरीरको तापक्रम बढ्ने, मुख सुक्ने, मुटुको धड्कनमा परिवर्तन आउने जस्ता समस्या उत्पन्न हुन्छ । शरीरमा भएको ऊर्जा पनि हराउँछ । शरीर शिथिल हुन्छ ।हामी साना-साना खुसी र साना-साना दुःखमा आफूलाई तटस्थ राख्न सक्यौँ भने सन्तुलित जीवन जिउन सक्छौँ । त्यसैले गीताले हर परिस्थितिमा समान भावमा (समत्तो) रहन प्रेरित गरेको छ।
समग्रमा स्वस्थ जीवनलाई बुझ्नका लागि अष्टाङ्ग योगले बताएका कुरालाई पनि हेरौँ ।अष्टाङ्ग योगका आठवटा अङ्गहरू छन् यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारण, ध्यान र समाधि । यमले नैतिक अनुशासनको कुरा बताउँछ । जस्तै: अहिंसा, सत्य, चोरी नगर्ने, ब्रह्मचर्य, लोभलालच बाट मुक्त हुने आदि।यसैगरी दोस्रोमा नियम अर्थात् व्यक्तिगत अनुशासनलाई जोड दिएको छ। जसमा शारीरिक सरसफाइ, वर्तमान क्षणमा सन्तुष्ट हुने, अनुशासनको अभ्यास गर्ने, अध्ययनमा लाग्ने र कुनै उच्च शक्तिमाथि नतमस्तक हुने ।पर्याप्त शारीरिक सरसफाई नपुग्नुको परिणाम आज अधिकांश रोगहरू फैलिरहेका छन्। हरेक दिन नुहाउने, हात खुट्टा, नङ, कपालको सरसफाइमा ध्यान दिने, मुखको सरसफाइ गर्ने, आफू बस्ने कोठा तथा वरिपरि सधैँ सफा राख्ने कुराहरू अनुशासितपूर्वक गरेमा अधिकांश स्वास्थ्य समस्याबाट हामी स्वतः मुक्त हुन्छौँ ।
के यी कुनै पनि कुरा गर्नका लागि हामीले देखिने औषधि खानुपर्छ र ?
त्यसपछि आसनलाई जोड दिएको छ। शरीर स्वस्थ राख्न तथा एक आसनमा लामो समयसम्म बस्न सकियोस् भन्नका लागि शरीरको लचकता हुन जरुरी छ।यसैगरी प्राणायाम अर्थात् श्वासप्रश्वासको नियन्त्रणमा अभ्यास गर्ने कुरालाई पनि जोड दिएको छ। कहिलेकाहीँ तपाईँलाई रिस उठ्यो वा बेचैनी भयो भने लामो लामो साँस लिने गर्नुहोस्। लामो सास लिएर जति सकिन्छ एकछिनलाई रोक्ने प्रयत्न गर्नुस् । यो क्रम ८-१० पटक दोहोर्याए तपाईँको मन शान्त हुँदै आउँछ ।त्यसैगरी इन्द्रीयमाथिको नियन्त्रण अर्थात् प्रत्याहार लाई अष्टाङ्ग योगले जोड दिएको छ। अनियन्त्रित रूपमा इन्द्रीहरूको भोग र त्यहीँबाट सुख प्राप्त हुन्छ कि भनेर दौडिँदा नै समाजमा अधिकांश घटनाहरू घटिरहेका छन्। कुनै खानेकुरा अवस्थ छ भन्ने थाहा हुँदाहुँदै स्वाद र सन्तुष्टिका लागि खाएरै छोड्छौँ । अनि त्यसले विविध समस्या ल्याउँछ । त्यसैले अष्टाङ्ग योगले इन्द्रीयका आकांक्षालाई नियन्त्रण गर्न भनेको छ।
यी माथिका कुराहरूमा व्यक्ति पारङ्गत नभइकन ध्यानमा बस्न सक्दैन । अहिले बजारमा ध्यान गर्ने भनेर निकै चर्चा छ । तर माथिका यी कुराको अभ्यास नगरेसम्म चञ्चल मन एक ठाउँमा स्थिर भएर बस्न सक्दैन।यस्ता कुरा सुन्दा समान्य लाग्छ तर स्वस्थ जीवनका लागि यी निकै अर्थपूर्ण छन् । स्वस्थ, सुखी, आनन्दित जीवन जिउन चाहनुहुन्छ भने माथिका कुराहरू अभ्यास गर्न जरुरी छ। यी हाम्रा दैनिक शारीरिक, मानसिक तथा सामाजिक जीवनमा आउने समस्याका समाधान हुन् ।कुनै पैसा नलाग्ने सकारात्मक सोच किन नराख्ने ? हामीले सामान्य तरिकाले अपनाउन सक्ने आनीबानी, जीवनशैली किन नपअनाउने ?




.gif)





