काठमाडौं ।२५ साउन, कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष (२०८०।८१) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ, जस अनुसार बैंकको वित्तीय प्रदर्शन उत्साहजनक देखिएको छ।
बैंकले सार्वजनिक विवरण अनुसार सो अवधिमा खुद नाफा ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ८९ करोड रुपैयाँको तुलनामा करिब ४३ प्रतिशतले वृद्धि हो।
नाफामा उल्लेखनीय वृद्धि हुनुमा नोक्सानी व्यवस्थापन वापत छुट्याइने रकम (इम्पेरिमेन्ट चार्ज) मा ठूलो गिरावट प्रमुख कारण बनेको छ। अघिल्लो वर्ष २ अर्ब ४५ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज छुट्याइएकोमा, यो वर्ष मात्र १० करोड ६२ लाख रुपैयाँ छुट्याइएको छ।
हालै सार्वजनिक विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी भने केही घटेको देखिन्छ। अघिल्लो वर्षको १० अर्ब ५५ करोडको तुलनामा यो वर्ष ९ अर्ब ८२ करोडमा झरेको छ।
आर्थिक वर्षको अन्त्यमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी (EPS) २७ रुपैयाँ ६३ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९ रुपैयाँले वृद्धि हो। त्यस्तै, वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने प्रतिसेयर वितरणयोग्य नाफा १५.५८ रुपैयाँ छ।
निष्क्रिय कर्जामा समेत बैंकले सुधार ल्याउन सफल भएको देखिन्छ। अघिल्लो वर्ष ३.९१ प्रतिशत रहेको निष्क्रिय कर्जा दर घटेर हाल ३.२६ प्रतिशतमा झरेको छ। साथै, आधार दर पनि ८.०९ प्रतिशतबाट घटेर ५.८७ प्रतिशतमा कायम छ।
बैंकको प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ रहेको छ भने बजार मूल्य ३२८ रुपैयाँ प्रतिकित्ता छ।




.gif)





