काठमाडौं, २४ साउन २०८२, नेपाल शिक्षक महासंघकी सचिव कल्पना पनेरूले प्रतिनिधिसभा अन्तर्गत संसदीय समितिमा छलफलमा रहेको शिक्षा विधेयकलाई आफूहरूले स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभएको छ।
शनिबार रिपोर्टर्स क्लब नेपाल द्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव पनेरूले शिक्षा विधेयकले महासंघ सँग भएका अघिल्ला सहमति र सम्झौतालाई बेवास्ता गरेको आरोप लगाउनु भयो। उहाँले वर्तमान विधेयक शिक्षक तथा शिक्षा क्षेत्रमैत्री नरहेको बताउँदै, उक्त विधेयक फिर्ता लिनुपर्ने माग गर्नुभयो। उहाँले आवश्यकता परे आन्दोलनमा जानुको विकल्प नभएको चेतावनी पनि दिनुभयो।
शिक्षा क्षेत्र अहिले अत्यन्त अराजक र मनोमानी ढंगले अघि बढिरहेको छ, पनेरूले भनिन्, पञ्चायतकालीन शिक्षा ऐनलाई गणतान्त्रिक व्यवस्थामा आ–आफ्नै अनुकूलतामा व्याख्या गरेर शिक्षा प्रणालीमा अन्यौलता सिर्जना गरिएको छ।
सचिव पनेरूले अस्थायी शिक्षकहरूको समायोजन न्यायोचित हुनुपर्ने माग गर्दै, प्रस्तावित ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा शिक्षक महासंघका लागि स्वीकार्य नहुने प्रष्ट पार्नुभयो।
शिक्षा विधेयक प्रति चर्को असन्तुष्टि व्यक्त गर्दै महासंघले आगामी दिनमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने सम्भावना पनि देखिएको छ।




.gif)





