काठमाडौँ, भदौ २२ – सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतको इजलासले बुधबार थापालाई एक वर्ष कैदसहित तीन करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो। थापाको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार कसुरदार ठहर गरिएको हो।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापाको आम्दानी ९ करोड १४ लाख ३१ हजार भए पनि खर्च १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ देखिएको उल्लेख गरेको छ। उनले तीन करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरिएको हो।
अदालतले थापासँगै बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेललाई समेत दोषी ठहर गरेको छ।
यता, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीले भने सफाइ पाएका छन्।
अर्को मुद्दामा समेत दोषी
थापालाई नदीजन्य पदार्थको ठेक्कासम्बन्धी अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गरिएको छ। अदालतका अनुसार बागमती नगरपालिकाको मूल्य अभिवृद्धि करसहित करिब ३० करोड २९ लाख रुपैयाँ बराबरको हानिनोक्सानी भएको पाइएपछि उनलाई दोषी ठहर गरिएको हो। उक्त मुद्दामा सजाय निर्धारणका लागि अर्को पेशी तोकिएको छ।
थापा र उपमेयर मोक्तान दुबैजना माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन्। भरत थापा “भरत ताल” निर्माणमार्फत सार्वजनिक चर्चा र आलोचनामा आएका थिए।





.gif)





