images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, संवैधानिक परिषद्सम्बन्धी...

प्रतिनिधिसभाको बैठक आज बस्दै, संवैधानिक परिषद्सम्बन्धी विधेयकबारे राष्ट्रपतिको सन्देश सार्वजनिक हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै, संवैधानिक परिषद्सम्बन्धी विधेयकबारे राष्ट्रपतिको सन्देश सार्वजनिक हुने

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौँः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। आजको बैठकमा विविध महत्त्वपूर्ण विधेयक तथा प्रतिवेदन माथि छलफल र प्रस्तुति हुने कार्यक्रम रहेको छ।

    images
    images

    बैठकमा सङ्घीय संसद्का महासचिवले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’का सन्दर्भमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्। यस विधेयकलाई राष्ट्रपतिको पुनर्विचारका लागि फिर्ता पठाउने निर्णयले राजनीतिक वृत्तमा बहस चलिरहेको छ।

    यसैगरी, लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा समेटिएका सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

    images
    images

    बैठकको सम्भावित कार्यसूची अनुसार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौता अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि राख्ने तयारी गरिएको छ।

    संवैधानिक परिषद् सम्बन्धी विधेयक यसअघि दुवै सदनले पारित गरेर सभामुख देवराज घिमिरेमार्फत असार ३१ गते प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो। तर राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक संविधानको मर्म, लोकतान्त्रिक मान्यता र अभ्यास प्रतिकूल रहेको भन्दै धारा ११३(३) अनुसार पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका थिए।

    राष्ट्रपतिले विधेयक फिर्ता गर्ने पाँचवटा आधार प्रस्तुत गरेका छन् — संवैधानिक परिषद्मा स्वेच्छाचारिता रोक्नुपर्ने, विधेयक संविधानको धारा २८४ र लोकतान्त्रिक अभ्यास प्रतिकूल भएको, विधेयकले जटिल परिस्थिति सिर्जना गर्न सक्ने, निर्णयमा बहुमतको अवधारणा कमजोर हुने तथा कानुनी शासनमाथि आघात पुर्‍याउने जस्ता कारणहरू उल्लेख छन्।

    अब विधेयक पुनः प्रतिनिधिसभामा छलफल गरी पारित भएपछि राष्ट्रियसभामा जानेछ। दुवै सदनले पारित गरेपछि सभामुख मार्फत फेरि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिने कानुनी प्रक्रिया रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend