काठमाडौँ, पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंह विशेष अदालतको आदेशपछि ३५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार शालिग्रामलाई बैंक ग्यारेन्टी मार्फत धरौटीमा छाड्ने आदेश दिएको थियो।
उक्त प्रकरणमा संलग्न अर्का अभियुक्त तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह भने ५० हजार रूपैयाँ धरौटीमा छुटेका छन्। सोही दिन दुवै जनासँग बयान लिइएपछि थुनछेक बहस भएको थियो।
शालिग्राम सिंह नेपालमा पतञ्जलि योगपीठका तर्फबाट कम्पनी खोल्ने, व्यापारिक कारोबार गर्ने लगायत सम्पूर्ण जिम्मेवारी पाएका थिए, र उनी यस प्रकरणका मुख्य अभियुक्तसमेत हुन्।
माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्को विधेयक समितिले २०६६ माघ १८ गते पतञ्जलि योगपीठलाई हदबन्दी भन्दा बढी जग्गा राख्न छुट दिएको थियो। त्यसपछि सरकारकै निर्णयबाट उक्त जग्गा फरक प्रयोजनमा बेच्न समेत स्वीकृति दिइएको थियो।
यस प्रक्रियामा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। पूर्वप्रधानमन्त्री नेपाल यसअघि ३५ लाख रूपैयाँ धरौटीमा छुटेका थिए।




.gif)





