images

२०८३ आश्विन १७ गते

images
images
images

एसियाली विकास बैंकको ५ वर्षे राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक

एसियाली विकास बैंकको ५ वर्षे राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  •  काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को ‘राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९)’ सार्वजनिक भएको छ ।एडीबी सञ्‍चालक समितिबाट ३ असारमा स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ ।रणनीति आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका, युवाका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतामा केन्द्रित छ ।

    images
    images

    अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्मा, नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वा र विश्व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स म्यानेजर प्रीति अरोराले राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरे ।एडीबीले नेपालमा पहिलो पटक विश्व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको हो । यो सहकार्यमा आधारित विकास योजनामा महत्त्वपूर्ण कोशेढुंगा सावित भएको एडीबीको भनाइ छ ।

    कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एडीबीको नयाँ राष्ट्रिय साझेदारी रणनीति सार्वजनिकीकरणसँगै ६ दशक लामो साझेदारीमा नयाँ अध्याय सुरुवात भएको बताए ।१६औं योजनासँग तादत्म्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खासगरी युवाका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्ने उनको भनाइ छ ।राष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने एडीबीको अटल प्रतिबद्धता प्रतिविम्बित गर्ने एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाले बताए ।

    images
    images

    उनले समावेशी, उत्थानशील, हरित र रोजगारी–सघन आर्थिक वृद्धिको बृहत एजेन्डा तय गर्ने समेत दाबी गरे । ‘हामी अर्थ मन्त्रालय नेतृत्व र विश्व बैंक समूहसँगको घनिभूत सहकार्यको मुक्तकण्ठले प्रशंसा गर्दछौं । नीतिगत सुधार, संस्थागत सुदृढीकरण तथा पूर्वाधार विकास आबद्ध गरिएका लगानी परियोजना, नीतिगत आधारमा प्रदान गरिने ऋण तथा क्षेत्रगत विकास कार्यक्रम संयोजन मार्फत  राष्ट्रिय साझेदारी रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालासँग काम गर्न एडीबी प्रतिबद्ध छ,’ उनले भने ।

    राष्ट्रिय साझेदारी रणनीतिले डिजिटल रूपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवं वञ्चितीकरणमा परेका साथै जोखिममा रहेका समूहहरूको सशक्तीकरण जस्ता अन्तरविषयगत प्राथमिकता समावेश गरेको छ, जसले समावेशी र समतामूलक विकास परिणाम सुनिश्चित गर्ने एडीबीको भनाइ छ ।एडीबीका प्रमुख अर्थशास्त्री इयान ह्यान्सन र कार्यक्रम अधिकृत सृजना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजना प्रस्तुत गरे ।एडीबी एसिया प्रशान्त क्षेत्रमा समावेशी र उत्थानशील विकासका लागि सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend